विद्यालय बन्द भएपछि भारतमा पढ्न जान्छन् विद्यार्थी

20k Shares

इलाम - सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो ।

विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताउनुभयो ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो । “सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन”, उहाँले भन्नुभयो ।

अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले बताउनुभयो । डोमाले भन्नुभयो, “आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।” आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार