उपनिर्वाचन कार्यतालिका सार्वजनिकः चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

18k Shares

काठमाडौँ । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । 

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ। 

त्यस्तै आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। 

निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिने सहायक प्रवक्ता उपसचिव एवम् डा. थानेश्वर भुसालले जानकारी दिए । साथै मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ। मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

सम्बन्धित समाचार