मौरीपालनबाट किसान लाभान्वित

10.1k Shares

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त छन् । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गरेका उनीसँग हाल २८ घार मौरी रहेका छन् ।

यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गरेका छन् । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उनको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आएका छन् ।

स्थानीय बजारमा मह प्रतिकिलोग्राम (केजी) सात सय रुपैयाँमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उनको अनुभव छ ।

देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले छ वर्षअघि दुई घारबाट सुरु गरेकोमा हाल आठ घारमा मौरी छन् । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताए । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उनको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताए ।

 

सम्बन्धित समाचार