काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले दोस्रोपटक संसद विघटन गरेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले(माधवकुमार नेपाल पक्ष), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले संसद पुस्र्थापनाका लागी रिट हालेका छन् ।
अदालतले यदि संसद पुनस्र्थापना नगरी संसद विघटनकै पक्षमा फैसला गरेको खण्डमा भने संसद पुस्र्थापनाको पक्षमा उभिएका सबै दलको गठबन्धन मिलेर मोर्चाबन्दी गरेर प्रम केपी ओलीको घमण्डलाई तोड्न चुनावमा जाने रणनीति बनाएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च अदालतमा रिट हाल्न गएका उनीहरुको पहिलो आशा भने प्रतिनिधि सभा पुनःस्थापना हुनेमै छ ।
एमालेको केपी शर्मा ओली र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष एकातिर भएका छन् । उनीहरुको विरुद्ध विपक्षी गठबन्धन सक्रिय भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै सुरु भएको यो गठबन्धन ओली विरुद्धको संघर्षमा थप लामो समयसम्म जाने नेताहरुले बताएका छन् ।
देउवासहित १४६ जना सांसद्ले हालेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । संवैधानिक र कानुनी दृष्टिकोणले प्रतिनिधि सभा पुनःस्थापना हुने सम्भावना यसअघि भन्दा बलियो रहेको संविधानविद् र कानुनविद्हरुले बताएका छन् । पुनःस्थापित भएको खण्डमा विपक्षी गठबन्धनबीच सत्ता साझेदारी हुने छ ।
यसअघि प्रतिनिधि सभा विघटन हुँदा विपक्षीहरुले छुट्टाछुट्टै र ओलीपक्षले आमसभा र सडक प्रदर्शन गरेर अदालतमाथि दबाब बढाएका थिए । अदालतमा मुद्दा विचाराधीन अवस्थामै हुँदा पनि ओलीपक्षले निर्वाचनको पक्षमा र विपक्षमा उभिएका दलहरु संघर्षमा उभिएका थिए । यसैबीच अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरिदिएको थियो ।
दोस्रो पटक प्रतिनिधि सभा विघटन हुँदा कोरोना महामारी र निषेधाज्ञा कारण विपक्षी गठबन्धनले विरोध सभा र सडक प्रदर्शन गर्न पाएका छैनन् । ओली समूहले पनि यसअघि जस्तो प्रदर्शन गर्न पाएका छैनन् । विपक्ष गठबन्धनले भने बैठकहरु बसेर विज्ञप्ति जारी गरिहरेका छन् । विपक्षी दलमा आबद्ध नेताहरुले सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा विघटन गर्ने कदमको विरोध जनाउँदै आएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापना भए पनि सबैभन्दा ठूलो दलको रुपमा ओली नेतृत्वको एमाले कायमै रहन्छ । त्यतिबेला पनि आफूहरुको गठबन्धन कायमै राख्नुपर्ने विपक्षी गठबन्धनका नेताहरुको भनाइ छ । लोकतन्त्र संरक्षणको सुनिश्चित नभएसम्म विपक्षी मोर्चा कायम हुने बताउँदै चुनावसम्म तालमेल हुनसक्ने नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले संकेत गरेका छन् । ‘लोकतन्त्र संरक्षण सुनिश्चित नभएसम्म गठबन्धनबीचको तालमेल, सहकार्य र सहमति कायम रहन्छ । त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने सबै नेताहरुको धारणा छ’, खाँडले भने,‘लोकतान्त्रिक पद्धति र मूल्य पद्धति आत्मसात् गरेका राजनीतिक दलहरुले न्यायपालिकाले स्वतन्त्र, निष्पक्ष र विवेकसम्मत ढंगले निर्णय गर्छ भन्ने छ । न्यायपालिकाले संविधान अनुकूलको निर्णय गरेपनि यो गठबन्धन रहिरहन्छ । किनकि सदन सामना गर्न पनि हामीलाई गठबन्धन चाहिन्छ । सडकमा जानुप¥यो भनेपनि गठबन्धन चाहिन्छ ।’
ओलीले संवैधानिक अंगहरु कब्जा गर्ने काम गरेकाले त्यसलाई सच्याउन पनि गठबन्धन आवश्यक हुने खाँडले बताए । ‘ओलीजीले संवैधानिक अंगलाई आफू अनुकूल र आफ्नो स्वार्थमा काम गर्ने बनाउनुभयो । त्यो एउटा निरंकुश सोच र शैली हो । जुनसुकै सर्वसत्तावाद अधिनायकवादको खिलापमा मोर्चाबन्दी हुँदै आएको छ । अहिलेको मोर्चाबन्दी स्वभाविकै छ । आवश्यक हुनेछ’,उनले भने ।