प्युठान नगरपालिकामा दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

18.8k Shares

प्युठान । प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिएको छ । नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सुरु गरेको जनाएको छ । 

नगरलाई दूध तथा दुग्धजन्य वस्तुमा आत्मनिर्भरताका लागि दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहित गर्न दूधमा अनुदान दिने नीति ल्याइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम सुरु भएकै पहिलो तीन महिनामा चार लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।

नगरप्रमुख योगीले भने, “उत्पादनमा आधारित अनुदान प्रभावकारी र प्रेरणामुखी हुन्छ भन्ने आधारमा यो कार्यक्रम सुरु गरिएको हो ।”

किसानको सम्मानका लागि ‘उत्पादन हातमा, अनुदान साथमा’ भन्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । 

नगरपालिकाले प्युठान नगरपालिका–१ खैरास्थित शिवालय दुग्ध सहकारी संस्था लिमिटेड र वडा नं ३ स्थित नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत सो कार्यक्रम लागू गरिरहेको छ । दैनिक एक हजार पाँच सय लिटर दूध खपत हुने आँकलन गरिएकोमा हाल दैनिक चार सय लिटर दूध संकलन हुँदै आएको छ ।

नागबेली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमा दैनिक एक सय ५० लिटर दूध संकलन हुँदै आएको सहकारीका अध्यक्ष विष्णु पाण्डेले बताए । सहकारीले त्रैमासिकरूपमा प्रतिवेदन पेस गर्ने र सोही आधारमा नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको छ ।

अध्यक्ष पाण्डेले भने, “हामीले पेस गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले सोझै किसानको खातामा राखिदिन्छ ।”

नगरपालिकाका अन्य वडामा पनि छिट्टै डिपो राखी दूध संकलन गर्ने उक्त सहकारीको योजना छ । भौगोलिक विकटता तथा ढुवानी समस्याले चाहे जति दूध संकलन गर्न नसकिएको पाण्डेले जानकारी दिए । 

स्थानीय तहले उत्पादनमा आधारित अनुदान दिएपछि दूधको संकलनमा सहजता र लागत मूल्यमा राहत मिलेको शिवालय सहकारीका अध्यक्ष विष्णु बस्नेतले जानकारी दिए ।

सहकारीमा दैनिक दुई सय ५० लिटरसम्म दूध संकलन हुँदै आएको छ । दूधको साथसाथै छिट्टै तरकारी उत्पादनमा समेत किसानलाई अनुदान दिने कार्यक्रम ल्याउन लागिएको नगरपालिकाले जनाएको छ । रासस

सम्बन्धित समाचार