रुपेश स्वर्णकार हत्याप्रकरण ः कोलकत्ताबाट पक्राउ गरेर बाराको विश्रामपुरमा गोली हानेर पक्राउ

16.9k Shares

बारा । बारा कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याप्रकरणमा थप एक जना सुटर पक्राउ परेका छन् । प्रहरीको खोजी सूचीमा रहेका भारतीय नागरिक सुजित सिंहलाई प्रहरीले गोली हानेर गत मंगलबार साँझ नियन्त्रणमा लिएको हो । घटनाको ५८ औं दिनमा स्वर्णकार हत्याप्रकरणमा भनिएका मुख्य सुटरहरुमध्ये एकजनालाई पक्राउ गरेको हो । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा हुन् । दुबै खुट्टामा गोली लागेर घाइते भएका सिंहको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ । गत कार्तिक १३ गते प्रिन्सिपल स्वर्णाकारको गोली हानेर हत्या भएको थियो । घटनाको तीन दिन पश्चात प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । सिंह भने फरार थिए ।डिएसपी न्यौपानेका अनुसार सिंहसहित ४ जनाको जनाको समूह नेपाल आएको सूचनाका आधारमा प्रहरीले पछ्याएको थियो । प्रहरीले देखेर भाग्न थालेपछि सिंहलाई खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी न्यौपानेले बताए ।

बारा प्रहरीले विज्ञप्ति जारी गर्दै गोली हानेर सार्प सुटरलाई पक्राउ गरेको जानकारीसमेत दिएको छ । बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बारा प्रहरीले भनेको छ, ‘सुजित कुमार सिंहसहितका व्यक्तिहरु हतियार लिएर नेपाल प्रवेश गरिरहेको हामीलाई सूचना आयो, त्यही सूचनाको आधारमा प्रहरीले जाँचमा कडाइ ग¥यो । जसअन्तर्गत सिंह र प्रहरीबीच बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मा भेट भयो, त्यहीक्रममा सिंहलाई रोकेर जाँच गर्दा उनले प्रहरीमाथि गोली चलाए, त्यसको जवाफी कारबाहीमा प्रहरीले गोली चलाएर उनलाई नियन्त्रणमा लिइयो ।’यही विज्ञप्तिमा प्रहरीले सिंहको साथबाट एक थान घरेलु हतियार, फायर भएको गोलीको खोकासहित गोली पनि बरामद उल्लेख गरेको छ ।

सुजित कुमार सिंह पक्राउको सूचनामा नाटक मञ्चन गरिएको छ । सीमाना ल्याएर जानीजानी गोली चलाएर समातेको नाटकको पर्दाफास गरिएको छ । कानुनी बाध्यताले सिधै भारतबाट अपराधी ल्याउन नमिल्ने भएकाले प्रहरीले सीमाबाट पक्राउ गरेको देखाउनु सम्म ठिकै हो । तर गोली चलाएर घाइते बनाउनु, बन्दुक फेला पार्नु यो पूरौ नाटक नै देखियो । यस्ता गतिविधिले प्रहरीले गर्ने राम्रो काममा पनि जनताको विश्वास घट्दै र टुट्दै जान्छ ।प्रहरीले अनुसन्धानको सिलसिलामा भारतीय प्रहरीको सहयोग खोज्न थाल्यो । भारतीय प्रहरीले सहयोग नगरेसम्म अपराधीलाई भारतबाट कानुनी हिसाबले ल्याउन नमिल्ने भएकाले प्रहरीले ५८ दिनसम्म अपराधीको रेकी गर्नुप¥यो ।

जब भारतीय प्रहरीबाट ग्रीन सिंग्नल आयो, अनि सिंहलाई तुरुन्त उठाइयो । स्रोतका अनुसार नेपाल प्रहरीले सिंहलाई भारत पश्चिम बंगालको कोलकत्ताबाट पक्राउ गरेको हो । सिंह गोली हानेर भागेको फुटेज प्रहरीले फेला पारे पछि मुख्य सुटर सिंह र मुख्य योजनाकार मनोज गुप्ताको नम्बर जाँच गरियो, जसमा दुबैबीच वार्तालाप भएको प्रमाण भेटियो ।यही प्रमाणले सिंहले प्रयोग गर्दै आएको नम्बर भारतीय प्रहरीको सहयोगमा लोकेसन ‘ट्रेस’ ग¥यो । त्यसपछि सिंहलाई पक्राउ गर्न विशेष टोली खटाइयो । करिब डेढ महिना लगातार सिंहको निगरानी गरिरहेपछि कोलकत्ताबाट उठाइयो ।

रुपेशको कार्तिक १३ गते गोली हानी हत्या भएको थियो । हत्यामा आठ जनाको संलग्नता रहेको प्रहरीले बताएको थियो । हत्या भएको तीन दिनमा पत्रकार सम्मेलन गर्दै प्रहरीले प्रेम सम्बन्धका कारण मारिएको बतायो ।स्थानीय राधा गुप्तासंगको प्रेमका कारण हत्या भएको प्रहरी दाबी गर्दै त्यसमा सहयोगी भूमिकामा संलग्न रहेको भन्दै ५ जनालाई सार्वजनिक समेत ग¥यो, जसमा प्रेमिका भनिएका गुप्तासंगै अन्य ४ जनाको नाम थियो । उनको हत्या आरोपमा यसअघि बाराको कलैया उपमहानगरपालिका–२ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह प्रहरी हिरासतमा छन् । ५८ औं दिनमा मात्र प्रहरीले सिंहलाई पक्राउ ग¥यो भने अन्य मुख्य योजनाकार भनिएका मनोज गुप्तासहित मुख्य सुटर फरार नै छन् । प्रहरीले चलाएको संगठित अपराध अन्तर्गतको मुद्दाको अनुसन्धान गर्ने हद म्याद ६० दिनको हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार