सरकारले गर्नुपर्ने प्रतियोगिता हामीले गरेर देखाइदिएका छौं ः महर्जन

16.7k Shares

चापागाउँ । ललितपुरको गोदावरी नगरपालिका– ११, चापागाउँमा शनिबार आयोजित वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिता सफलतापूर्वक शनिबार सम्पन्न भएको छ । 
सो कार्यक्रमको समापनमा नेपाली कांग्रेस खेलकुद विभागका सचिव, प्रतियोगिताका संयोजक एवम् नेपाली कांग्रेस युवा नेता मीन कृष्ण महर्जनले पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै खेलाडी, प्रशिक्षक, टिम, आर्थिक र भौतिक सहयोग गर्ने तथा शुभेच्छुकहरूप्रति धन्यावादसहित आभार प्रकट गर्दै आफूहरूले अन्तर्राष्ट्रियस्तरको किक बक्सिङ प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको बताएका थिए ।
महर्जनले कांग्रेसको केन्द्रीय खेलकुद विभाग र ललितपुर किक बक्सिङ संघले प्रतियोगिता आयोजना गरेको भन्दै प्रतियोगितामा सहभागी भएका विभागीयसहित विभिन्न टिमहरूलाई बधाइ र धन्यवाद दिएका थिए ।
‘खेलकुद विभागका प्रमुख एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको नेतृत्वमा विभाग बन्नेवित्तिकै कोरोनाको संक्रमण भयो’, उनले भने, ‘चुनौतीका साथ खेलकुद विभागले काम गरिरहेको छ । बानेश्वरमा कार्यालय खोलेर काम गरिरहेका छौँ ।’ सचिव महर्जनले भने, ‘खेलकुद विभाग गठन गर्न कांग्रेसले ढिला ग¥यो । हामीलाई एक वर्ष अगाडि खेलकुद विभाग दिएको भए कांग्रेसलाई देशभरि खेलकुदमय बनाउने थियौँ ।’
महर्जनले थपे, ‘खेलकुद विभागले रक्तदान गरेको छ । सरकार सुतिरहेको बेला सरकारलाई सहयोग स्वरुप देशभरि रक्तदान गरेका छौँ ।’ ‘राति सपनामा पनि मोहनबहादुर बस्नेत दाईलाई देख्छौँ । हामी काम गर्ने मान्छे । मोहन दाई निर्देशन गर्ने मान्छे’, विभागका सचिव महर्जनले भनेका छन्, ‘हामी आफै पनि खेलाडी काम नगरेर बस्न सक्दैनौँ । खेलप्रेमी साथीहरू खुसी छौँ ।’
‘यो कार्यक्रम नेपाल सरकारले गर्नुपर्ने थियो । साथी भाईको सहयोगले गोदावरी नगरपालिकका प्रमुख गजेन्द्र महर्जनले ठूलो सहयोग गर्नुभएको छ’, उनले भने, ‘ललितपुर महानगरपालिका, बागमती गाउँपालिले सहयोग गरेको छ । राष्ट्रिय खेलकुद परिषदले पनि सानोतिनो सहयोग गरेको छ ।’ महर्जनले भने, ‘म सानै उमेर १२ वर्षदेखि खेलकुदमा लागेको मानिस । नसानसामा खेलकुद छ ।’
विभागका सचिव महर्जनले भनेका छन्, ‘प्रतियोगितामा कुनै कमीकमजोरी देखाएको छैन । अन्तर्राष्ट्रियस्तरको प्रतियागिता गरेका छौँ ।’ किक बक्सिङ प्रतियोगितामा १३ वटा खेलले सहभागिता जनाएको महर्जनले बताएका छन् ।
समापन कार्यक्रममा कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेत, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, गोदावरी नगरपालिकका मेयर गजेन्द्र महर्जन, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाललगायतको उपस्थिति रहेको भने सो प्रतियोगिताको सभापतित्व ललितपुर किक बक्सिङ संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय किक बक्सिङ खेलाडी विनोद महर्जनले गरेका थिए । 

सम्बन्धित समाचार