कञ्चनपुरमा अहेबमाथि कुटपिट

18.3k Shares

काठमाडौं, ३ असोज । कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले कुटपिट गरेका छन्।

केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका व्यक्तिले ‘टाँका लगाउने धागो किन नभएको’ भन्दै कुटपिट गरेको जनाएको छ। 

घाइते भएका व्यक्ति बेलौरी–५, मैनाहाका बाबुराम चौधरी हुन्। गैरेमाथि आक्रमण गर्ने बेलौरी–३, गोकुलपुरका रामु भनिने रामबहादुर खड्का रहेका छन्। 

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ। 

हातपातपछि पनि गैरेले घाइतेको उपचार गरेको फुटेजमा देखिएको छ।

घटनाबारे उजुरी गर्न बुधबार बिहान इलाका प्रहरी कार्यालय पुग्दा पीडितप्रति नै आक्षेप लगाउने खालको प्रतिक्रिया दिएको र दिउँसोसम्म पनि आक्रमणकारीलाई पक्राउ नगरिएको विज्ञप्तिमा उल्लेख छ। 

दोषीलाई कानुनी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने केन्द्रले जनाएको छ।

 

सम्बन्धित समाचार