काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो चीन भ्रमण स्थगित गरेका छन्। चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपाली चुच्चे नक्सालाई नसमेटेको प्रति असन्तुष्टि जनाउँदै बालेनले आफ्नो चीन भ्रमण स्थगित गरेका हुन्।
चीनको निमन्त्रणमा बालेन ५ दिने भ्रमणका लागि त्यसतर्फ जाने तय थियो। तर नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर निकालेको चुच्चे नक्सालाई नसमेटी चीनले आफ्नो नक्सामा पुरानै (बुच्चे) नक्सालाई मान्यता दिएपछि ‘नैतिकताका आधार’मा भ्रमण रद्द गरेको बालेनको भनाइ छ।
शाहले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्– ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ। केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’