काठमाडौँ । स्वर्गीय जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आज आइतबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा 'जे.बी. टुहुरे स्मृती दिवस तथा स्रष्टा सम्मान कार्यक्रम' सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथीको रुपमा आमन्त्रित हुनुहुन्थ्यो भने समारोहमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलगायत अरु विशिष्ट स्रष्टाहरु सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको सभापतिको आसन जे.बी. टुहुरे फाउण्डेसनका अध्यक्ष निर्भिका टुहुरेले गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभयो । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’ को लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रूपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यक साधक अनिल पौडेललाई रु एक लाख राशीको पुरस्कार पनि प्रदान गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले जनता तथा समाजको पक्षमा सिर्जना गर्न आफूलाई अझ प्रेरित गरेको बताउनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने कार्यक्रमको उद्घोषण सञ्चारकर्मी दिनेश डीसीले गर्नुभएको थियो ।
पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उनीसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ । विसं २००१ मा मोरङमा जन्मिएका उनले सांगीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थापित गराएका थिए । पञ्चायती व्यवस्था र राजतन्त्रकाविरूद्ध सांस्कृतिक एवं सांगीतिक आन्दोलनको नेतृत्व गरेका टुहुरेका सयौँ कृति सार्वजनिक छन् । तीमध्ये ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौं दासी बनेर’ लगायत गीतले उनलाई राष्ट्रिय गायकमा स्थापित गरेको थियो । २०७८ साल भदौ १० गते टुहुरेको निधन भएको थियो ।


