काठमाडौं । देशमा सहमतिको सरकार गठनको प्रयास चलेको छ । प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले सर्वदलीय सरकार गठनको प्रयास सुरु गरेका छन् । उक्त समूहले प्रधानमन्त्री केपी शर्मा ओलीइतर समूहका नेताहरुसँग टेलिफोन संवाद गरेर सहमति र सहकार्यको राजनीतिलाई फेरि अगाडि बढाउनेबारे छलफल गरेका छन् । हिजो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहमतिको सरकार गठनबारे कुराकानी गरेका छन् ।
ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र माधवकुमार नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने या महाभियोगसम्म लगाउने तयारी भइसकेको छ ।
राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विकल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुन थालेको छ । पौडेल प्रतिनिधिसभा सदस्य नभएकाले प्रधानमन्त्री बन्ने सम्भावना छैन । उनी प्रधानमन्त्री बन्न दुई तिहाईले चुनावमा पराजित व्यक्ति पनि प्रधानमन्त्री बन्नसक्ने प्रावधान राख्ने गरी ऐन संशोधन गर्नुपर्छ । जुन सम्भव देखिँदैन । त्यसैले पौडेललाई राष्ट्रपतिको प्रस्ताव गर्ने तयारी भएको बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिमाथि निकै ठुलो प्रश्न उठेकाले उनीविरुद्ध महाभियोग लगाउनेसम्मको छलफल बढिसकेको छ । भण्डारीको ठाउँमा पौडेललाई ल्याउन प्रचण्ड र माधव नेपाल पनि सकारात्मक भएका छन् । पौडेल प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका थिए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि दबाबमा पारेका थिए । देउवाले पनि महाधिवेशन नजिकिदै गर्दा पौडेललाई राष्ट्रपति दिएर सभापति पद सुरक्षित गर्ने प्रयासको सम्भावना नभएको होइन । तर, देउवा आफै प्रधानमन्त्रीको दाबेदार भएकाले पौडेललाई राष्ट्रपति बनाएर नेकपाका अर्को नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्ने सम्भावना उत्तिकै कमजोर छ ।
देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डा देखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी बढिसकेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे पनि छलफल बढेको छ । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रोक्ने पक्षमा देखिएका छन् । यसो हुँदा विद्या भण्डारीको राष्ट्रपति पद पनि जोगिनसक्छ । उनी आफू सहज तरिकाले सत्ताबाट हटेर भएपनि भण्डारीको राष्ट्रपति पद जोगाएर शक्तिको अभ्यास गरिरहने दाउमा छन् ।