काठमाडौं, फागुन २ । सरकारले वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न आज (आइतबार) नेकपाका दुवै पक्षसहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको आयोगले यसबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो । छलफलका लागि दलका प्रतिनिधिलाई बिहान ११ बजे आउन भनिएको आयोगले जनाएको छ ।
एक आयुक्तका अनुसार निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह/सुझाव लिन नेकपा दुवै पक्षका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै दलका अध्यक्ष/सभापतिलाई बोलाइएको हो । यसपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भन्दै नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी चरणबद्ध आन्दोलनमा रहेका बेला निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। त्यसयता ओली समूहबाहेक देशका लगभग सबै दल, नागरिक समाज, कलाकार, लेखक आन्दोलित छन् भने प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ ।