महासमिति बैठकको एजेन्डामै रुमलिँदै कांग्रेस

16.5k Shares

काठमाडौं । संसदीय अभ्यासको सबैभन्दा जेठो र वर्तमान संसद्को ठूलो दल नेपाली कांग्रेस पाँच महिनाअघिको महासमिति बैठकमा प्रस्तुत एजेन्डाभित्रकै एकाध विषयमा रुमलिएको छ। पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तर्फबाट पेस भएको प्रतिवेदनमा उल्लिखित चुनावी गठबन्धन र एक्जिट पोलिसीका विषयमा नेताहरू निष्कर्षमा पुग्न नसक्दा पछिल्लो बैठकसमेत प्रभावित भएको हो।

२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा उठेका विषयलाई समेटेर परिमार्जनसहित प्रतिवेदनहरू केन्द्रीय समितिबाट पारित गर्ने भनिए पनि पाँच महिनासम्म उक्त विषयमा सहमति जुट्न नसकेको नेपाली कांंग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो।

‘बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्रीहरू गगन थापाको सांगठनिक र विश्वप्रकाश शर्माको समसामयिक राजनीति प्रस्तावले अहिलेसम्म आधिकारिकता पाउन सकेको छैन’, आचार्यले भन्नुभयो। महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आफैंले पेस गरेका सांगठनिक र समसामयिक प्रस्तावका विषयहरूमा पछि हट्ने संकेत नदेखाएपछि पार्टीको संस्थापन पक्षका नेताहरू प्रस्तावको विरुद्धमा खुलेरै लागेका छन्।

साउन २५ को बैठकमा परराष्ट्रमन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य आरजु राणा नै शर्माको प्रस्तावको विपक्षमा उभिनुभयो। महामन्त्री विश्वप्रकाश शर्माको नेताहरू पदीय जिम्मेवारीमा कति पटकसम्म जान पाउने भन्ने मापदण्ड बनाउने प्रस्ताव अघि सार्नुभएको थियो।

‘एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटकभन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै व्यवस्था गर्नुपर्छ’, उहाँले प्रस्तावित प्रतिवेदनमा लेख्नुभएको छ। सो प्रस्ताव गत साउन २३ बाट भएको केन्द्रीय समिति बैठकमा पनि पेस गरेसँगै महासमिति बैठकको निर्णयलाई मूर्तरूप दिन थप समस्या भएको कांग्रेसका एक पदाधिकारीले बताए । उक्त विषय पार्टीको आन्तरिक छलफलमा थप चर्चाको विषय बनेको उनको भनाइ छ। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार