आर्थिक संकटमा बार्सिलोना

15.6k Shares

स्पेनको चर्चित क्लब बार्सिलोना यतिबेला एक अर्ब युरोभन्दा बढीको ऋणमा छ । कोरोना प्रकोपबीच फुटबल गतिविधि बन्द भएपछि क्लबले सोच अनुरुप आम्दानी गर्न नसकेको स्पेनको पत्रिका इल मुन्डोले जनाएको छ ।
यसबीचमा पत्रिका इल मुन्डोले आफूहरुले बार्सिलोना र मेस्सीबीच सन् २०१७ मा भएको सम्झौताको प्रतिलिपि प्राप्त गरेको दाबी गरेको छ । पत्रिकाले मेस्सीले चार सिजनमा बार्सिलोनाबाट ५५ करोड ५२ लाख ३७ हजार ६१९ युरो प्राप्त गर्नेगरी बार्सासँग सम्झौता गरेको उल्लेख गरेको छ । यसैवर्षको जुन ३० मा मेस्सी र बार्साबीचको सम्झौता सकिँदैछ। कुनै सम्झौता नभएको खण्डमा मेस्सी फ्रि ट्रान्सफरमा अर्को क्लबमा जान पाउनेछन् ।
३३ वर्षका मेस्सीलाई हरेक सिजन १३ करोड ८० लाख युरो तलब दिइने साथै पुनः क्लबमै बस्ने सम्झौता गरेमा ११ करोड ५२ लाख २५ हजार युरो पनि दिइने र बोनसको रुपमा ७ करोड ७९ लाख २९ हजार ९५५ युरो प्रदान गरिने पनि सम्झौतामा उल्लेख गरिएको समाचारमा जनाइएको छ ।
मेस्सी र बार्साबीचको यस सम्झौतालाई खेल इतिहासकै ठूलो सम्झौता भनिएको छ। यसबीचमा कोरोनाले खेलकुद गतिविधि अवरुद्ध हुँदा क्लब ऋणमा परेको छ ।
मेस्सीसँगको सम्झौता पनि बार्सा आर्थिक संकटमा पर्नुकाे एउटा कारक भएको बताइएको छ। अन्य खेलाडीसँग पनि बार्साको भिन्दै सम्झौताहरु छन् । बार्सामा जोसेप मारिया बार्टेमेउ प्रमुख हुँदा मेस्सी र क्लबबीच सम्झौता भएको थियो। यतिबेला उनी क्लबको पदबाट हटिसकेका छन् । पछिल्लो चरणमा मेस्सीले कोरोना प्रकोपका कारण थलिएको क्लबको अवस्था उकास्न तलब कम गर्नुपर्ने भनाइहरु आएका छन् । क्लबको प्रमुखमा उम्मेदवार बनेका केहीले मेस्सीले तलब कटौतीको विषय स्वीकार गर्नुपर्ने नभए क्लब छाड्नु पर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार