काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कमरेडबाट ‘बा’ भएका छन् । उनी कार्ल माक्र्स र लेनिनको कुरा भन्दा पृथ्वीनारायण शाह र भगवान रामको चर्चा गर्न थालेका छन् । ठोरीमा राम मन्दिर बनाउने उनको धोको छ । अब उनी विस्तारै कम्युनिस्टहरुको कार्यशैली छाड्दै गएका छन् । उनका एकपछि अर्का कदमहरु देशको वर्तमान राजनीतिक प्रणाली नै उल्टाउने दिशातर्फ उन्मुख छ । कम्युनिस्ट पार्टीसँग उनको मोहभंग भइसकेको छ भन्ने पार्टी विभाजनको कठोर कदम चालेबाट प्रष्ट भइसकेको छ ।
ओलीले प्रतिनिधिसभा विघटनको कदम चालेकोमा माक्र्सवादी चिन्तक समेत रहेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुषालले कम्युनिस्टहरुको सामूहिक आत्महत्या भनेका छन् । उनको यो अभिव्यक्तिमा दम छ । ओलीको कदमले अब नेपालमा कम्युनिस्टलाई सम्भवत कहिले पनि दुई तिहाईको सरकारको नेतृत्वमा नपु¥याउने निश्चितप्रायः छ । सम्भवत सत्ताको नेतृत्व गर्ने कम्युनिस्टहरुको यो नै अन्तिम अवसर हुनसक्छ । ओलीले जुन कदम चालेका छन् त्यसले नेपालमा कम्युनिस्टहरुलाई बदनाम मात्र बनाएको छैन वितृष्णा समेत जगाएको छ । यसको क्षति भर्न अब कुनै कम्युनिस्ट नेतालाई पनि कठिन हुनसक्छ ।
वामदेव गौतमले ओलीले एकपछि अर्को बबण्डर मच्चाउने कदम चाल्न थालेपछि गोर्वाचोभ पथमा लागेको टिप्पणी गरेका थिए । ओलीले संसद बिघटन गराएपछि नेकपा नेता माधवकुमार नेपालले ओलीको कदमलाई गोर्वाचोभपथ भने । ओलीको कदमलाई गोर्वाचोभपथ भन्नु अर्थपूर्ण छ । सोभियत संघ बिघटनका बेला मिखायल गोर्भाचोभ रुसका राष्ट्रपति थिए । उनले चालेका कदमले सोभियत संघ बिघटन मात्र भएन त्यहाँबाट कम्युनिस्ट पार्टी नै पत्तासाफ जस्तै भयो । अहिले रुसमा मात्र नभई पूर्व सोभियत राज्यहरुमा कम्युनिस्टहरु पलायन जस्तै छन् । कम्युनिस्टहरु इतिहासमा सिमित भएका छन् । त्यतिबेला रुसमा कम्युनिस्ट सत्ता ढलेर पत्तासाफको मार्ग कोरिंदा घटेको घटना नेपालको पछिल्लो घटनासँग तुलनायोग्य छ ।
सन् १९९१ मा कट्टरपन्थी कम्युनिस्टहरुले गोर्वाचोभविरुद्ध सैनिक ‘कू’ गर्न खोज्दा असफल भएका थिए । गोर्वाचोभले कट्टरपन्थी कम्युनिस्टहरुलाई पेल्दै लगे । उनीहरुको हातमा सत्ता जानुको साटो कम्युनिस्ट पार्टीलाई नै दाउमा लगाए । उक्त घटनाले बोरिस यल्तसिनलाई सत्तामा पु¥यायो । गैर कम्युनिस्टहरु रुसको सत्तामा पुगेपछि कम्युनिस्टहरु कहिले सत्तामा फर्कन सकेनन् । कम्युनिस्टहरु रुसमा यति कमजोर हुँदै गए कि दक्षिणपन्थी शासन बलियो हुँदै गयो । यही घटना नेपालको राजनीतिमा देखापर्न थालेको छ । ओलीको कम्युनिस्ट नाम जोडिएपनि कदमहरु दक्षिणपन्थीका लागि अनुकूल हुन थालेको छ । उनी स्वयं उग्र दक्षिणपन्थीको शैलीमा कदमहरु चाल्न थालेका छन् ।
ओलीले देशलाई संकटको नयाँ भासमा जाकेका छन् । प्रतिनिधिसभा बिघटनलगायत उनका सबै कदमहरुको फैसला अदालतमा पुगेर अड्कने अवस्था बनेको छ । यसले बल सबै अदालतमा गएर अड्कने निश्चितप्रायः छ । प्रतिनिधिसभा बिघटनमाथि परेको रिट निवेदन होस् या नेकपाको वैधानिक हक कस्को हुने हो ? यी विषयहरुको टुंगो सर्वोच्च अदालतले मात्र लगाउनसक्ने परिस्थिति विकास भएको छ । अब देशको राजनीति नयाँ मोडमा पुगेको छ । अदालत हावी हुँदै गएको छ । ओलीले सत्ता छाड्नुभन्दा अर्को शक्ति या निकायमा सत्ता पुग्नुलाई उचित ठाने । आफ्ना कम्युनिस्ट सहकर्मीभन्दा अन्य शक्ति नै उनका लागि मित्रशक्ति बने । संवैधानिक निकायको नियुक्तिको भागवण्डामा पनि तिनै शक्तिहरुलाई उपयुक्त ठाने । सहकर्मीहरुलाई जिउँदै श्रद्धाञ्जली दिनेसम्मको अभिव्यक्ति दिएर अराजनीतिक संस्कार देखाउन थालेका छन् ।
ओलीको कदमले कम्युनिस्टहरुको इतिहासमै पहिलोपटक दुई तिहाईको सरकार बन्दा आफ्नै कारणले अवस्था बदलिएको छ । अबको अवस्था निकै चुनौतीपूर्ण बन्ने देखिँदैछ । यो घटनाले रुसमा कम्युनिस्टहरुको पतन भएजस्तै अवस्था नेपालमा पनि आउन सक्छ । रुसको शितयुद्धताकाको घटना र अहिलेको घटना केही मिल्दोजुल्दो छ । रुसमा गोर्वाचोभमाथि कट्टरपन्थी कम्युनिस्टहरुले ‘कू’ को प्रयास गर्दा असफल भएपछि नयाँ परिस्थिति सृजना भएको छ । जसले कम्युनिस्टहरुबाट सत्ता गुम्यो र कहिले फर्किएन । नेपालमा अब यही परिस्थित बन्दै गएको छ ।
अहिले ओलीको कदमले दक्षिणपन्थीहरुलाई फाइदा पुगेको छ । देशमा गणतन्त्रविरोधी आवाजमा बल पुगेको छ । गणतन्त्र स्थापनाको १२ वर्षपछि फेरि राजा आऊको नारा सडकमा लाग्न थालेको छ । राजतन्त्रबारे जानकारी समेत नपाएको पुस्ता सडकमा राजा ल्याउने नारा लगाउन थालेका छन् । यो वितृष्णा र असन्तुष्टिको परिणाम हो । यसका पछाडि ओलीको कदमले पनि भुमिका खेलेको छ । ओली स्वयं गणतन्त्रवादी थिएनन् । संघीयताको खुलेर विरोध गर्थे । नामले कम्युनिस्ट भएपनि व्यवहारले ओली दक्षिणपन्थी थिए । उनले त्यही व्यवहार सत्तामा पुगेपछि देखाएका छन् । उनको कदम नेकपा र अहिलेको राज्य प्रणालीको पक्षमा छँदै छैन । यसले राजनीतिक परिवर्तन उल्टाउने माहोल निर्माण गर्दैछ । सँगै सँगै कम्युनिस्टहरुलाई पतनको अवस्थामा पु¥याउने सम्भावना बढेको छ । नेपालमा कम्युनिस्टको पतनको कारक ओली नै बन्दैछन् ।