काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ कात्तिकको राति भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमै घन्टौं कुराकानी गरेका थिए ।
कोरोना भाइरसको महामारीको बखत विशेष विमानबाट टोलीसहित काठमाडौं उत्रिएका गोयल बालुवाटार प्रवेश गरेको खुलासा प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारमार्फत् गराए । गोयलको नेपाल आगमन र ओलीले सचिवालयमार्फत् आफैले त्यसको खुलासा गर्न लगाउनुले धेरै राजनीतिक सन्देशहरु बोकेको थियो । ओली आफैले भारतसँग पुनः नजिकिन थालेको सन्देश प्रवाह गरे । गोयल उनको स्वीकृतीविना चाटर्ड विमानबाट काठमाडौं आएका थिएनन् । यसमा ओलीकै योजना थियो ।
नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्वन्द्व चुलिइरहेको बखत गोयल नेपाल आएका थिए । त्यसअघि ओलीको पार्टीभित्रका प्रतिद्वन्द्वीहरुले भारतको साथ लिएर सरकार ढाल्ने प्रयासहरु बढाएको सूचनाहरु बालुवाटार पुगेका थिए । यतिसम्मकी ओली स्वयंले प्रचण्डमाथि विदेशीसँगको कतिपय महत्वपूर्ण सहमतिका विषयहरु रोक्न खोजेको आरोप लगाएका थिए । लिखित रुपमै ओलीले पार्टीमा प्रस्तुत गरेको प्रस्तावमा प्रधानमन्त्री आफू बन्ने भएकाले सहमति पनि भविष्यमा आफूसँगै गर्न भनेर भँडुवा शैलीको क्रियाकलाप गरेको आरोप लगाए । यो विषय भारतसँगको ओली र प्रचण्ड दुवैको सम्बन्धसँग सम्बन्धित थियो । ओलीले भारतको नाम नलिई ऊसँग मिलेर सत्ता ढाल्न खोजेको आरोप प्रचण्डमाथि लगाए । भारतीय भूमिमा पुगेर आलोपालो प्रधानमन्त्रीको सहमतिको खुलासा गरेकोप्रति पनि ओलीको आक्रोश थियो । प्रचण्डले सत्ता ढाल्न भारत र चीन दुवैतर्फबाट निरन्तर प्रयास गरिरहेको भन्दै ओलीले असन्तुष्टि पोख्दै आएका थिए ।
नेकपाभित्र दुईपटक ओलीको सत्ता संकट टरेको थियो । उधारो सहमतिमा सत्ता संकट टरेपनि फेरि विवाद बल्झने निश्चित नै थियो । ओलीले त्यसको सामनाका लागि पूर्व तयारीहरु गर्न थालेका थिए । नेकपा एकीकरण गराएको जस लिँदै आएको उत्तरी छिमेकी चीनले पनि ओलीको सत्ता जोगाउनभन्दा एकता जोगाउनका लागि ऊर्जा खर्चन थालेको थियो । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले पनि नेकपा एकीकरण जोगाइराख्न ओलीको सत्तालाई काँध थापि नरहने रणनीति बनाउन थालिन् । अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदबाट पारित गराउन ओली सक्रिय भएपछि चीन शतर्क भइसकेको थियो । ठिक त्यति नै बेला अन्तर्राष्ट्रिय राजनीतिमा समेत माहोल बदलिँदै गयो । अमेरिका र भारत एशिया प्रशान्त क्षेत्रको मामलामा एक भए । दक्षिण एशियामा त अमेरिकाले चीनसँग नजिकिएका देशहरुलाई ठाडै चेतावनी दिएको विषय बाहिर आयो । चिनियाँ पत्रिका ग्लोबल टाइम्सले त श्रीलंका र मालदिभ्सलाई अमेरिकाले चीन या अमेरिका एक रोज्न सिधा चुनौती दिएको उल्लेख ग¥यो । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ कात्तिकको मध्यतिर भारत भ्रमणमा पुगेर सैन्य सम्झौता गरेका थिए । दक्षिण एशियाको मामलामा अमेरिकासँग भारतले हातेमालो गरेको थियो । यी विकसित घटनाक्रमलाई नियालेका प्रधानमन्त्री ओलीले चीनसँगको दूरी बढाउँदै गए ।
नाकाबन्दीका बखत भारतसँग कडा सवालजवाफ गरेर चुनावी सफलता हासिल गरेका प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नक्शा जारी गर्न साहस नै देखाए । यसबाट उनको राजनीतिक उचाई निकै बढेको थियो । भारतले लिम्पियाधुरा हुँदै रणनीति मार्ग खोलेपछि ठाडै विरोध गरेका थिए । यतिसम्मकी संसदमा सबै दललाई नेपालको नक्शासहितको निशान चिन्ह परिवर्तनको विधयेकमा समर्थनमा उत्रन वाध्य बनाइदिए । भारतसँगको साँधसीमा बलियो बनाउन उत्रिएका ओलीले त्यससम्बन्धी पाठ्यक्रम विकासका लागि तयार भएको पुस्तकमा भने प्रतिबन्ध लगाए । त्यसपछि उनमा केही परिवर्तनका संकेतहरु देखिनथालेको थियो ।
संवाद नै बन्द गरेको भारतले कात्तिक महिनायता लगातार उच्च तहमा भ्रमणहरु गरायो । तीमध्ये भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, सेनापति मनोज मुकुन्द नरवाणे, विदेश सचिव हर्षवद्र्धन श्रृंगला र सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले छन् । एकाएक भारतबाट उच्च तहको भ्रमण हुनु सामान्य विषय थिएन । ओलीले भारततर्फ पुनः सम्बन्ध बलियो बनाउँदै लान थालेको सन्देश थियो त्यो । यतिसम्मकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेलाई नेकपा महासचिव विष्णु पौडेलको निम्तोमा नेपाल भ्रमणमा ल्याए । बालुवाटारमा चौथाइवालेसँग भेटे । तर, नेकपाकै अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग चौथाइवालेको भेट भएन । यो घटनाबाट ओलीले भारत आफूसँगै सिधा संवाद चाहन्छ र पार्टीका अन्य पक्षलाई महत्व दिइरहेको छैन भन्ने सन्देश दिन सफल भए । ओलीले बेइजिङबाट मोडिएर दिल्लीतिरै साइनो जोड्न थालेका थिए ।
भारतबाट लगातारको उच्च तहको भ्रमणले उत्साही प्रधानमन्त्री ओलीले पार्टीभित्रका प्रतिद्वन्द्वीहरुलाई एकाएक पेल्न थाले । २६ भदौमा भएको सहमतिको मसी सुक्न नपाउँदै मन्त्रिमण्डल पुर्नगठन र राजदूत नियुक्तिमा एकलौटी गरे । तीनजना पूर्व प्रधानमन्त्रीलाई पेलेर जाने ऊर्जा ओलीले देशभित्रबाट नभई बाह्य शक्तिबाट पनि पाइसकेका थिए । भारतबाट चारजना उच्च अधिकारीहरुको लगातारको भ्रमणले उनलाई पार्टीभित्र आक्रामक र एकलौटी बनाइसकेको थियो । त्यसपछि पनि ओलीले पार्टीभित्र जतिसुकै विरोध हुँदा पनि टेरपुच्छर लगाएनन् । बरु पार्टीको विधि विधान र अनुशासनको विषय उठाउनेलाई धम्की र चेतावनी दिइरहे । सत्ताबाट हटाउन खोजे कठोर कदम चाल्ने चेतावनी दिए । पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ भन्नेलाई ओलीले घेराबन्दी गर्ने समूह ठानेर व्यवहार गरे । ओलीले प्रतिनिधिसभा बिघटन गरेर ठुलो दुर्घटना निम्त्याउन लागेको सूचना पाएपछि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर पटक पटक सहमति बनाउन प्रयासमा लागे । तर, उनलाई भेट्न डाकेको समय अगावै क्याबिनेट बैठकभित्र पसेर ओलीले प्रतिनिधिसभा बिघटन गराइदिए । पार्टी विभाजनको ओलीको प्रयासलाई प्रचण्ड र माधव नेपालले केही पछि हटेर भएपनि विफल बनाएका थिए । संसद बिघटनको दुर्घटना रोक्न पनि प्रचण्ड फेरि केही ब्याक भएर रोक्न खोज्दै थिए । तर, ओलीले बाह्य शक्तिको आँडभरोसामा देशलाई नै भड्खालोमा हाल्ने प्रतिनिधिसभा बिघटन जस्तो निर्दयी कदम चाले । संविधानको हत्या गरेर गणतन्त्र नै सिध्याउने ग्रान्ड डिजाइनमा भएको यो कदम ओलीले चालेको भएपनि यसका पछाडि ठूलो शक्तिकेन्द्रको भूमिका देखिएको छ । स्वयं प्रचण्डले यसमा देशी विदेशीको चलखेल भएको र समयले खोल्दै लाने बताएका छन् ।
ओलीले संविधानमाथि निर्मम प्रहार गर्ने क्रममा आफैलाई इतिहासकै शक्तिशाली निर्वाचित प्रधानमन्त्री बनाउने प्रनिधिसभाको हत्या गरेका छन् । सत्ता आफूमा नरहने भए अरुमा पनि नरहोस् भन्ने जस्तो ओलीको स्वभाव देखिएको छ । माधवकुमार नेपालले भनेजस्तै कुर्सीमा आफू बस्न नपाए भाँच्नुपर्छ भन्ने ओलीको स्वभाव चरितार्थ भएको छ । उनको यही स्वभाव बुझेको शक्तिकेन्द्रले निकै खेलेको छ । तीन महिनायता नेपालमा भएको विदेशीको दौडधुप, प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को विवादास्पद कार्यशैली र देशभित्र प्रमुख प्रतिपक्षीको भूमिकाले यो वातावरण तयार गरेको हो । ओलीको कदममा देउवाको अदृश्य समर्थन र भागवण्डाको स्वार्थमा पनि ठुलै डिजाइन खुल्दै गएको छ । गणतन्त्र र संघीयता नै सक्याउने गरी भएको यो योजनामा नेकपा छिन्नभिन्न पार्ने खेल पनि लुकेको छ । ओली यो चलखेलको मतियार बनेका छन् । योसँगै गणतन्त्र र संघीयता धरापमा परेको छ । यसलाई जोगाउने चुनौती प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुमा परेको छ । देउवाले ओलीले राजा ल्याए थाहाछैन काँग्रेसले ल्याउँदैन भनेका छन् । यसले पनि देशमा ठुलै संकट आउन लागेको र यसमा ओली ठुलै जालझेलमा सहभागी भएको खुल्दै गएको छ ।