खेलकुद बुझेकाले नेतृत्व गरे मात्र खेल क्षेत्रको विकास सम्भव छ

21.4k Shares

० नेपालमा समग्ररुपमा खेल क्षेत्र पछाडि पर्नुको कारण के होला ?
खेल क्षेत्र पछाडि पर्नुको कारण खेलकुदलाई नबुझेका, भिजन नभएकाहरूले खेलकुद क्षेत्र सम्हालेका कारणले खेलक्षेत्र पछाडि परेको हो । अर्को कारण सरकारको खेलकुदमा खासै ध्यान नपुगेको र बजेट निकासा गर्दा खेल क्षेत्रलाई नजरअन्दाज गरियो । सोही कारणले पनि खेल क्षेत्र सोचेअनुसार अगाडि बढ्न सकेको छैन । 
० खेलकुदको ज्ञानै नभएका व्यक्तिलाई खेलकुदमा ल्याउँदा खेल क्षेत्रमा नै जिवन विताउनेहरूले किन आवाज नउठाएको होला ?
आवाज नउठाएको होइन, त्यसको सुनुवाई भएन या खेलकुदलाई माया गर्ने र खेल क्षेत्रको ज्ञान भएकाहरूको राज्यले आवाज दवाउने काम गरेको छ । खेलक्षेत्र वास्तवमा स्वतन्त्ररुपमा संचालित हुनुपर्ने क्षेत्र हो । तर, यसमा राजनीतिक हस्तक्षेप चरम उत्कर्षमा पुगेको छ । नेताहरूको आसेपासेहरूलाई खेलकुदको जिम्मेवारी दिएकै कारण पनि पछिल्लो समय भएको हरेक १३ औं साग गेम बोहक अन्य खेलमा पदकविहिन बन्न पुगेको अवस्था छ । 
० खेलक्षेत्र विकासका लागि विभिन्न संघसंस्थाहरू गठन भएका छन्, ती संस्थाहरूले यसबारे आवाज उठाएका छैनन् नि ?
आवाज त उठाएका छन्, तर सबै खेलका संघ संस्थाहरूले संयुक्तरुपमा राज्यको त्यस्तो हस्तक्षेपको विरोधमा आवाज नउठाएकै कारण पनि खेलकुदमा यस्तो अवस्था सिर्जना भएको हो ।
० नेपाललाई अन्तर्राष्ट्रियस्तरमा नाम चिनाउने खेल तेक्वान्दो हो, यसलाई राज्यले महत्व नदिएको भन्ने छ नि ?
आठौं साफ गेममा तेक्वान्दोले १४ वटा स्वर्णपदक ल्याई नेपाललाई इतिहासमै दोस्रो स्थान ल्याउन सफल भएको थियो । त्यस्तै १३ औं सागमा पनि १२ वटा स्वर्णपदक ल्याई दोस्रो स्थान हासिल गर्न सफल भयो । १३ औं सागमा १२ वटा स्वर्ण पदक ल्याउन खेलाडीहरूलाई हौसला तथा आत्मबल बढाउने तेक्वान्दा संघका वरिष्ठ गुरुहरूको संयुक्त प्रयासबाट सम्भाव भएको हो । यस्तो खेललाई राज्यले खासै महत्व नदिएको पाइएको छ । यसरी राष्ट्रको नाम चिनाउन दिनरात नभनी नेपाल तेक्वान्दा संघ नै लागि परेको कारण पनि यो सफलता मिलेको हो । यस्तै सफलता हासिल गर्नको लागि राज्यले अहिलेदेखि नै खेलाडीहरूलाई तालिम, विभिन्न मुलुकमा लगेर त्यहाँको अनुभव बटुल्ने अवसर दिनुका साथै दैनिक राज्यले नै सेवा सुविधा र खेलाडीको परिवारको दैनिक जीवनयापनको लागि आर्थिकलगायतका सुविधाहरू उपलब्ध गराउनुपर्छ । त्यसपछि मात्र खेलाडीले ढुक्क भएर देशको लागि खेल्ने मनोबल बढ्नुका साथै अन्तराष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने वनाउने छन् । यसतर्फ राज्यले आजबाटै ध्यान दिई खेलाडीहरूको मनोबल बढाउन पूर्वाधारहरू तयार पार्नुपर्ने अत्यावश्यक छ ।
० राम्रा खेलाडीहरू उत्पादनका लागि राज्यले कस्तो वातावरण बनाउनुपर्छ ?
राम्रा र सक्षम खेलाडीहरू तयार पार्नका लागि सरकारले खेलकुद क्षेत्रमा राम्रो लगानी गर्नुपर्छ । खेलकुदमा लाग्ने इच्छा भएका युवाहरूलाई सोही अनुसार तालिम, सेवा सुविधा दिने हो भने त्यस्ता युवाहरू अन्य कुलतमा लाग्दैनन् र देशमा गम्भीर अपराधजन्य घटनाहरूको पनि कमी आउँछ । खेलकुदमा लागेका युवा युवतीहरूमा रोगको संक्रमण कम हुन्छ । किनकी अहिले विश्वलाई नै आतंकित पारेको कोभिड—१९ ले खेलाडीहरू कम मात्र संक्रमित छन् । यसबाट पनि खेलकुद क्षेत्रमा लागेका युवाहरूमा आत्मबल बढी हुने भएका कारण यो रोगलाई परास्त गर्नसक्ने क्षमता भएको पुष्टि भएको छ । त्यसैले पनि राज्यले खेलकुद क्षेत्रमा राम्रो लगानी गर्नु जरुरी छ । 
० खेलाडीलाई राष्ट्रको गहना भनिन्छ, तर खेलाडीहरूको दैनिक जीवनयापन गर्न कठिन भएको खेलाडीहरू नै बताउने गर्छन् नि ?
यो कुरा सही हो । यसतर्फ राज्यले बेलैमा ध्यान पु¥याउनु जरुरी छ । राज्यले खेलाडीलाई सम्मान र दैनिक जिवन यापन गर्नसक्ने वातावरण नबनाएका कारण उनीहरू बाध्य भएर आफ्नो भविष्यका लागि विदेश पलायन हुनुपरेको हो । किनकी विगतमा देशको नाम विश्वसामु चिनाउने खेलाडीहरू विदेशमा पलायन भएका छन् । जस्तै तेक्वान्दोका ओलम्पिक गेममा इतिहासमै नेपाललाई पदक ल्याई देशलाई सम्मानित गर्ने व्यक्ति विधान लामा, त्यस्तै, एसियन गेममा देशलाई पदक दिलाउने सविता राजभण्डारीलगायत विभिन्न खेलका धेरै खेलाडीहरू विदेश पलायन भएका छन् । सोही कारण पनि खेलाडीलाई वास्तवमै राष्ट्रको गहना बनाउन ती खेलाडीका समस्या बुझ्ने सरकारको जरुरी छ । त्यस्ता खेलाडीहरूलाई विदेशमा पाउने सेवा सुविधा र आत्मबल बढाउन काम गरेको खण्डमा देशको नाम विश्वसामु चिनाउन खेलाडीले अहोरात्र खटिएर राष्ट्रको लागि खेल्ने छन् र विश्वसामु नेपाललाई चिनाउने छन् । 
० नेपाललाई विश्वमा चिनाउने तेक्वान्दो खेलमा पछिल्लो समय राजनीतिक घुसेको कारण खेलाडीहरूको मनोबल खस्किने काम भएको छ भन्ने छ नि ?
हो, तेक्वान्दो खेलमा पछिल्लो समय राजनीतिक घुसपेठ गर्न खोजिएको छ । यसले खेलाडीहरूको मनोबल गिर्नु स्वभाविक हो । २०४६ सालमा मै राष्ट्रिय खेलकुद परिषद्मा नेपाल तेक्वान्दो संघ दर्ता भई तेक्वान्दो खेल के हो, र यसले राष्ट्रको नाम विश्वसामु चिनाउन कस्तो भूमिका निर्वाह गरेको छ भन्ने कुरा जगजाहेरै छ । तर, यो खेलमाथि पनि पछिल्लो समयमा राजनीतिक विचारका आधारबाट प्रभाव र राजनीतिक उद्देश्यका लागि अर्को युनियनको नाममा अर्को तेक्वान्दो संघ गठन गरियो । यो विल्कुलै गैरकानुनी रुपमा राष्ट्रिय खेलकुद परिषद्ले राजनीतिक पूर्वाग्रह राखी दर्ता ग¥यो । यसले तेक्वान्दो खेलमा लाग्ने खेलाडीहरूको मनोबल गिराउने काम गरेको छ । तर, नेपाल तेक्वान्दो संघको सुझबुझका कारण यो खेललाई तेक्वान्दो संघ नै आधिकारिक हो भन्ने कुरा प्रमाणित गर्न सफल र¥यो । नेपाल तेक्वान्दा संघ देशैभरि रहेको खेलाडीहरूको लागि एक मात्र राष्ट्रिय अन्तर्राष्ट्रि मान्यता प्राप्त गरेको संघ हो भने कथित हिसावले दर्ता भएको संस्थाप्रति तेक्वान्दोलाई माया गर्ने कुनै पनि तेक्वान्दो खेलाडीहरू त्यो संस्थाप्रति आवद्ध छैनन् । र, हालसालै केही गैरकानुनी रुपमा दर्ता भएको संघप्रति आवद्ध रहेका खेलाडी तथा प्रशिक्षकहरू नेपाल तेक्वान्दो संघप्रति अर्थात् आधिकारिक संघप्रति प्रवेश गरिसक्नु भएको छ । अब त्यो संस्थाप्रति दुई चार जना राष्ट्रिय खेलकुद परिषद्बाट बार्षिक बजेट भजाउनका लागि मात्र त्यो संस्थामा आवद्ध रहेका छन् ।
० यसरी दुईवटा संघ हुँदा खेलाडीहरूलाई समस्या पर्दैन ?
पर्दैन र परेको पनि छैन । किनकी नेपाल तेक्वान्दा संघका खेलाडीबाहेक अन्य कुनै पनि खेलाडीहरू चाहे राष्ट्रि होस् वा अन्तर्राष्ट्रिय कुनै पनि आधिकारिक प्रतियोगितामा नेपाल तेक्वान्दा संघको अध्यक्ष प्रकाश शम्शेर राणा तथा आदरणीय गुरु महासचिव दिपराज गुरुङको हस्ताक्षर बाहेक कुनै पनि प्रतियोगितामा तेक्वान्दोका खेलाडीहरू सहभागि हुन पाउँदैनन् । त्यसैले तेक्वान्दो संघका कुनै पनि खेलाडीहरूलाई त्यस्ता प्रतियोगितामा छनोट भई खेल्न जान समस्या पर्दैन । 
० नेपाल तेक्वान्दा संघले खेलाडीहरूको भविष्यका लागि कस्ता योजनाहरू बनाएका छन् त ?
वास्तवमा तेक्वान्दो संघ यस्तो संघ हो, यो राष्ट्रिय खेलकुद परिषद् भन्दा एक कदम अगाडि सरेर तेक्वान्दा विकासका लागि लागिपरेको संघ हो । जस्तै, अहिलेसम्म कसैले पनि प्रादेशिक हिसावले संघ तयार गरेका छैनन् । एउटा मात्र तेक्वान्दो संघ हो जसले सातै प्रदेश संघ गठन गरिसकेको छ । र, ७५३ वटै स्थानीय निकायमा स्थानीय तेक्वान्दो संघ गठन गर्दैछ । त्यतिमात्र नभएर तेक्वान्दो खेल र यसमा लाग्ने खेलाडीहरूका लागि तेक्वान्दो संघले देशभित्र र बाहिर रहेका तेक्वान्दो खेलका लागि सहयोग जुटाउने काम गरेको छ । राष्ट्रिय टिमको लागि आफ्नै पहलमा दैनिक प्रशिक्षण दिने कार्य गर्दै आएको छ । प्रदेश संघले प्रदेश टिम तयार पर्दै आएको छ । तेक्वान्दो खेल अब डोजाङहरूमा मात्र सिमित छैन, यो प्रत्येक स्कुल—स्कुलहरूमा विषयगत बनाएर खेलाउन सुरु गरिएको छ । यसरी कुनै पनि खेल नेपालमा यति योजनाबद्ध तरिकाले बढेको पाइँदैन । 
० अन्त्यमा भन्नै पर्ने कुराहरू के छन् ?
सबैभन्दा ठूलो कुरा राज्यले कुन खेलमा लगानी गर्दा राज्यले त्यसको प्रतिफल पाउँछ त्यो राज्यले पहिचान गर्नुपर्ने जरुरी छ । खेलाडीहरूका लागि पर्याप्त जीवनयापनका लागि अत्यावश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने जरुरी छ । प्रत्येक खेलका संघलाई स्वतन्त्ररुपमा खेलाडी उत्पादन गर्ने, प्रशिक्षण गर्ने व्यवस्थापन गर्ने काम संघलाई नै जिम्मेवारी दिनुपर्ने जरुरी छ । यसमा राजनीतिक अस्तक्षप गर्नु हुँदैन । खेलाडीले नेपाल र नेपालीका लागि ढुक्क भएर आफ्नो क्षमता प्रदर्शन गरी विश्वसामु नेपालको झण्डा फहराउने छन् । यसतर्फ राज्यका खेलकुद क्षेत्रमा लागेका जिम्मेवार व्यक्तिहरूले गम्भीर भएर सोच्नुपर्ने जरुरी छ ।

सम्बन्धित समाचार