नक्कली शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री

19k Shares

काठमाडौं, ३ जेठ  । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधवार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरूले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्ने कुरा संगठित अपराध भएको बताए ।  

गृहमन्त्री श्रेष्ठले यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने बताए । भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हासिल हुन नसक्ने उनले बताए । कुनैपनि भ्रष्टाचारका प्रकरणहरू निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने उनले बताए ।  नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुगेको थियो ।

सम्बन्धित समाचार