काठमाडौं । पद अनुसारको पोष्टिङ नभएको भन्दै सशस्त्र प्रहरी बलमा असन्तुष्टि चुलिएको छ । बिभागिय भन्दा पनि मन्त्री एवं प्रधानमन्त्री तहबाट अनावश्यक हस्तक्षेप भए पछि पनि यो असन्तुष्टि चुलिएको सशस्त्र प्रहरीका उच्च अधिकारीहरू बताउँछन् । सशस्त्र प्रहरी बलको सानो गौचरणमा एपिएफ कमान्ड तथा स्टाफ कलेज रहेको छ । उक्त कलेजको प्रमुखमा डिआइजीको दरबन्दी रहेको छ । विगतदेखि नै यहाँ डिआइजीको दरबन्दी रहेको छ । अहिले कलेजमा डिआइजी सुरज श्रेष्ठको दरबन्दी रहेको छ । तर उनी बिदेशमा मिशनमा कार्यरत रहेका छन् । उनी बिदेशमा कार्यरत भए पछि निमित्तको जिम्मेवारी एसएसपी नरेन्द्र सेनलाई दिइएको छ । सशस्त्र प्रहरी बलको भावी नेतृत्व एवं माथिल्लो तहमा पुग्ने अफिसरहरू कति क्षमतावान छन् र उक्त संगठन कसरी चलिरहेको छ अनि चल्ने अवस्थामा छ भन्ने कुरा पनि स्टाफ कलेज पास भएका र माथिल्लो तहमा पुगेका अफिसरहरूको क्षमताले प्रष्ट पार्छ । कोही ५ त कोही ६ पटकसम्म पनि स्टाफ कलेज फेल भएका पनि छन् । कोही पास गर्न नसक्ने अवस्था आएपछि स्टाफ कलेज पढ्न नै जादैनन् । त्यसैले पनि स्टाफ कलेजको कमान्डर दक्ष र क्षमतावान मात्रै होइन बौद्विक हुनु पनि जरुरी छ ।
तर लामो समयदेखि स्टाफ कलेजको कमान्ड एसएसपी सेनले सम्हाल्दै आएको कारण पनि असन्तुष्टि बढेको सशस्त्रका उच्च अधिकारीहरू बताउँछन् । सशस्त्र मुख्यालयमा धेरै दक्ष र क्षमतावान डिआइजीहरू कार्यरत छन् तापनि उनीहरू मध्ये कसैलाई स्टाफ कलेजको कमान्ड दिनुपर्ने आवाज उठेपनि दिइएको छैन । कतिले अहिले स्टाफ कलेजको नेतृत्व गणेश ठाडा मगरलाई दिए उपयुक्त हुने बताई रहेका छन् भने कतिले जो भए पनि डिआइजी नै राख्नुपर्ने बताई रहेका छन् । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रसँंग नजिक रहेका भनिएका एसएसपी नरेन्द्र सेनले पार्टीका उप महासचिव बर्षामान पुन मार्फत् दवाब दिएर अरू डिआइजीलाई आउन रोक लगाएको आरोप समेत लागेको छ । सशस्त्र प्रहरी निरीक्षकमा नाम निस्कँदा ७६ जनामा ७० भन्दा तल नाम निस्केका नरेन्द्र सेन माओवादी नेताहरूको सामिप्यकै कारण विगतदेखि नै राम्रा मालदार पोष्टिङ पाउन मात्रै होइन बढुवामा पनि अगाडि अगाडि आउन सफल भएका छन् । नियमित तलव, राशन बाहेक झण्डै ४ करोड भन्दा माथि अरू बजेट हुने भएकोले पनि यहाँ अतिरिक्त आम्दानी हुने भएकोले डिआइजीहरूको आँखा लाग्ने गर्छ । यसबाहेक कमल गिरी र गणेश ठाडा मगर बीच सशस्त्रको नेतृत्वको प्रतिस्पर्धा रहेको अवस्थामा दुबैले प्रदेश कमान्ड गरेर मुख्यालय आएपछि अहिले गिरीलाई एकेडेमी दिएपछि मगरलाई स्टाफ कलेजको जिम्मेवारी दिनुपर्ने थियो भन्ने कुरा व्यापक उठिरहेको छ ।