रुसका राष्ट्रपति पुटिनले अर्को वर्ष राजीनामा दिने संकेत

16.8k Shares
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति पदबाट अर्को वर्ष राजीनामा दिन सक्ने देखिएको छ । बेलायती पत्रिकाले स्वास्थ्यका कारण पुटिनले आगामी वर्ष २०२१ को सुरुवातमा पदबाट राजीनामा दिन लागेको दावी गरेको छ ।
पुटिनलाई पार्किन्सन्स रोग भएको र यही कारण उनले राजीनामा दिन लागेको दावी गरेका छन् । रुसको राजनीतिको निरक्षिण गरिरहेका विज्ञहरुले समेत पछिल्लो भिडियो फुटेजमा ६८ वर्षीय पुटिनमा पार्किन्सन्सको लक्षण भएको सम्भावना देखिएको बताएका छन् ।
पुटिनकी पूर्व जिम्न्यास्ट प्रेमिका ३७ वर्षीया एलिना कबाएबाका साथै उनका दुई छोरीहरू मारिया र काटेरिनाले पुटिनलाई जिम्मेवारी छाड्न आग्रह गरिरहेको  बताइएको छ ।
केही समयअघि पुटिनको भिडियो सार्वजनिक भएको थियो जसमा उनी कुर्सीको हात अडाउने ठाउँलाई च्याप्प समातेको र खुट्टाहरु कुर्सीमा बस्दा पनि निरन्तर काँपिरहेको देखिएको बताएका छन् । कलम समाउँदा पनि पुटिनका औंलाहरु काँपिरहेको दावी गरिएको छ । एउटा कपबाट केही पिएको देखिएको छ जो सम्भवतः पेनकिलर हुन सक्ने दावी गरिएको छ ।
पुटिनलाई पार्किन्सन्स रोग लागेको भनी मानिसले यसअघि पनि थुप्रैपटक अनुमान गरिसकेका छन् । उनी अलिकति ढल्केर हिँड्ने कारण पनि पार्किन्सन्स नै भएको बताइएको छ ।
यसै साता रुसको संसदमा पुटिनलाई आजीवन सिनेटर बनाउनका लागि प्रस्तावित कानून पारित गर्न हतार गरिएको थियो । उक्त मस्यौदा पुटिन आफैंले संसदमा प्रस्तुत गरेका थिए । त्यसले उनलाई आजीवन कानूनी उन्मुक्ति र राज्यका सेवासुविधा उपलब्ध गराउनेछ ।
रुसको सरकारी टेलिभिजन आरटीले देशमा सत्ता हस्तान्तरणका लागि आधारभूमि तयार गरिँदै गरेको संकेत यसबाट पाइएको खबर दिएको छ ।
सम्बन्धित समाचार