काठमाडौं । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुगेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले राजस्थानलाई जितका लागि १६२ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४८ रन बनायो ।
राजस्थानका लागि वेन स्टोकले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै रविन उडथपाले ३२ रन बनाउँदा सन्जु श्यामसन २५ तथा जोस बट्लरले २२ रनको योगदान गरे ।
बलिङतर्फ दिल्लीका लागि तुसार देशपाण्डे र अरिच नोर्टजेले समान दुई–दुई विकेट लिए । त्यस्तै कगिसो रवाडा, रविचन्द्र आश्विन र अक्षर पटेलले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाउन सफल भएको थियो ।
दिल्लीका लागि शिखर धावन र श्रेयस अैरले अर्धशतकीय पारी खेले । ३३ बल खेलेका धावनले ६ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाउन सफल भए ।
त्यस्तै ४३ बल खेलेका अैरले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाउन सफल भए । दिल्लीका लागि मार्कुस स्टोइनिसले १८ रन बनाउनदा आल्यक्स केरीले १४ रनको योगदान गरे ।
बलिङतर्फ राजस्थानका लागि जोर्फा आर्चरले सर्वाधिक तीन विकेट लिए । त्यस्तै जयदेव उतकन्डले दुई विकेट लिँदा कार्तिक त्यागी र श्रेयस गोपालले समान एक–एक विकेट लिए ।
जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । लिगमा ८ खेल खेलेको दिल्ली १२ अंकसँगै तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । पराजित राजस्थान ८ खेलबाट ६ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।