बस्ती छाड्दै मनोहराका सुकुम्वासी

1.1k Shares

भक्तपुर – मनोहरामा रहेको सुकुम्वासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली गराउन थालेपछि मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा रहेको मनोहरा खोला किनाराका सुकुम्वासीले बस्ती छाडेका हुन् । 

सरकारको सुकुम्वासी बस्ती खाली गराउने अभियानप्रति पूर्ण समर्थन गर्दै यहाँका ७ सय ७७ परिवारले बस्ती छाड्न थालेका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुम्वासी बस्तीका ८० प्रतिशतले आज दिउँसो २ बजेसम्म सामान लिएर बस्ती छाडेका जानकारी दिनुभयो । 

बाँकी रहेकाहरूले आफ्ना सामान सारिरहेका बताउँदै उहाँले हिजो बस्तीमा प्रहरीले माइकिङ गरी बस्ती छाड्न र वास्तविक सुकुम्वासी सरकारको सम्पर्कमा आउन आग्रह गरेको जानकारी दिनुभयो । सरकारले थापाथलीको बस्ती हटाइसकेको जनाउँदै उहाँले तीनकुने गैह्रीगाउँमा रहेकाे सुकुम्वासी बस्ती हटाइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार त्यहाँको बस्ती हटाइसकेपछि त्यही टोली आएर मनोहरा किनाराको दायाँबायाँ रहेका बस्ती हटाउने छन् ।

भ्याएसम्म आज, नभ्याए भोलि बिहानदेखि बस्ती हटाउने बताउँदै प्रहरी उपरीक्षक खड्काले सुकुम्वासीले सरकारको अभियानलाई सहयोग गर्दै बस्ती छाड्नु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो । मनोहरा सुकुम्वासी बस्तीमा ७ सय ७७ घरटहरामा झन्डै १ हजार ६ सय भन्दा बढी मानिस बसिरहेका उहाँले जानकारी दिनुभयो । 

प्रहरी उपरीक्षक खड्काका अनुसार बस्तीमा ५० भन्दा बढी दुईतले पक्की घर रहेका छन् भने धेरै जस्ताका टहरा र ब्लकका घरहरू छन् । बस्तीमा आजै बेलुकासम्म भत्काउन तयारीका साथ भक्तपुरबाट झन्डै १ सय भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका उहाँले जानकारी दिनुभयो । 

सुकुम्वासी बस्तीका बासिन्दासँग भाडा उठाउन कोही व्यक्ति आउने गरेको बताउँदै बस्तीका बासिन्दामध्ये धेरैले भाडा तिर्ने गरेको बताउँछन् । सरकारले उचित क्षतिपूर्ति दिने वा बासको उचित व्यवस्थापन गरिदिए, गन्हाउने खोलाको किनारामा बस्न रहर नभएको सुकुम्वासी बताउँछन् ।

सम्बन्धित समाचार