थापाथलीका टहरा भत्काएर सुरक्षाकर्मी गैरीगाउँमा

761 Shares

काठमाण्डौ – सरकारले काठमाण्डौका नदी किनारामा रहेका सुकुम्वासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने क्रममा थापाथलीमा रहेको सुकुम्वासी बस्ती खाली गराएको छ । थापाथलीमा टहराहरू हटाउने कार्य सकेर आफूहरूसहितको टोलीले गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउन काम थालेको काठमाण्डौ महानगरीय प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।

थापाथलीबाट हटाएकामध्ये झन्डै २० जनाले अस्थायी आवासमा जाने इच्छा देखाएका छन् । आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग लगेको महानगरीय प्रहरीले जनाएको छ ।

सरकारले आज र भोलि थापाथली, गैरीगाउँ र मनहरा क्षेत्रका अनाधिकृत बस्ती हटाउन थालेको हो । त्यहाँ कति घरधुरीको बसोबास छ भन्ने यकिन तथ्याङ्क छैन । तर अब सक्कली र नक्कली सुकुम्वासी पहिचान हुने सरकारको विस्वास छ । सरकारले नक्कली सुकुम्वासीको नाम सार्वजनिक गर्ने बताएको छ ।

अनाधिकृत बस्ती हटाउनका लागि चार हजार भन्दा धेरै सुरक्षाकर्मी र कर्मचारीहरू परिचालन गरिएका छन् । त्यहाँबाट हटाइएका परिवारहरूको लगत सङ्कलन गर्ने र अस्थायी वासस्थानमा पुर्‍याउने काम पनि सँगसँगै भइरहेको छ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कतिपय परिवारलाई सामानहरू सार्न सुरक्षाकर्मीहरूले सघाइरहेको बताउनुभयो । मनोहरा क्षेत्रमा रहेको सुकम्बासी बस्तीका बासिन्दाले भने आज दिनभरमा आफूहरुले नै घर टहरा खाली गरिदिने बताएका छन् । सरकारले पनि आज बेलुकासम्म दुई वटा क्षेत्रको बस्ती खाली गर्ने बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ’मानवीय संवेदनाका आधारमा’ तत्कालका लागि पाँच ठाउँमा पुनर्स्थापनाकाे बाटो खोलिएको छ । नागार्जुनका ४२ वटा व्यवस्थित आवास यूनिट, कीर्तिपुरको सत्सङ्गको भवन, बोडेको कृषि विकास ब्याङ्कको तलिम केन्द्र र खरिपाटी र चाँदबागमा रहेका सरकारी भवन र खाली जग्गामा उनीहरूलाई व्यवस्थापन गरिने जनाएको छ । 

सम्बन्धित समाचार