काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री सोझा प्रहरीका रुपमा चिनिएका छन् । निकै सालिन रुपमा प्रस्तुत हुने उनलाई प्रहरीभित्र कसैले नराम्रो भन्न सक्दैन । कसैलाई नबिझाउने नरम स्वभाव भएका उनलाई कतिपयले पुलिस नभई शिक्षक बन्नुपर्ने मान्छे समेत भने । थापाको सरल र नरम स्वभावले यसअघिका आईजीपीहरुले पनि उनलाई च्यापे ।
तर, तिनै आईजीपीहरुको मातहतको कार्यालयबाट फोटो हटाउने उनको निर्णयले धेरैलाई झस्कायो । आइजीपी थापा लोकप्रिय त बने तर अपराध बढेर सर्वसाधारण हैरानीमा परेका छन् ।
देशमा चोरी र लुटपाटका घटना बढेको बढ्यै छ । टापटिपे चोरहरुले शहरका टोलदेखि गाउँका कुनाकाप्चासम्म हैरान पारिरहेका छन् । विस्तारै त्यस्ता घटनामा वृद्धि हुने भय सृजना भएको छ । मोटरसाइकल चोरहरुले दुःख दिन थालेका छन् । यो भन्दा पनि पछिल्लो समय बलात्कारका डरलाग्दा घटना बाहिर आएका छन् । यसले आईजीपी थापाको साख ह्वात्तै गिराइदिएको छ । विगतमा निर्मला पन्त बलात्कार प्रकरणले तत्कालिन आइजीपी सर्वेन्द्र खनालाई समस्यामा पारिदिएको थियो । अहिले त्यो भन्दा पनि जघन्य घटना घट्न थालेका छन् ।
देशमा बलात्कारको घटना फेरि बढ्न थालेको छ । बलात्कारको शिकार अधिकांश बालिका र सीमान्तकृत समुदायका महिला हुन थालेका छन् । बझाङमा १२ वर्षीया बालिकाको ७ असोजमा बलात्कारपछि हत्या भएको घटना बाहिर आउँदा तराईका जिल्लामा पनि धमाधम त्यस्ता घटना बाहिर आउन थालेका छन् । सप्तरीमा परिवार र पञ्चायतले बलात्कारको घटना मिलाउन खोजेको र उजुरी दिन रोकेपछि बालिकाले आत्महत्या गरेको तथ्य बाहिर आएको थियो । यसरी बलात्कारको घटना धमाधम बढ्न थालेपछि गृह प्रशासन र मातहतको नेपाल प्रहरीमाथि दबाब बढेको छ ।
हिजो प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले आईजीपी शैलेश थापा क्षेत्री र गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर बलात्कारका घटना हुन नदिन र विगतमा भएका घटनाको अनुसन्धानबाट चासो व्यक्त गरेको छ । गृहमन्त्री बादलले पछिल्लो समय भएका बलात्कारका घटनामा संलग्न दोषीलाई कठघरामा ल्याउने गरी कडा कदम चालेको बताए । बझाङ, सिराहा र सप्तरीमा भएका घटनाका दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारे ।
आईजीपी थापासँग निर्मला पन्त बलात्कारको घटनाको अनुसन्धानबारे समेत सोधिएको थियो । थापाले अनुसन्धान अझै जारी रहेको जवाफ दिएका थिए । उनले जतिसक्दो छिटो तरिकाले अनुसन्धान निष्कर्षमा पुग्ने गरी काम भइरहेको जानकारी दिए । अनुसन्धानमा प्रहरी अधिकृतको कमाण्डमा टोली खटाइएको समेत बताए । १० साउन २०७५ मा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा फेला परेको थियो । घटनाका शंकास्पदहरुलाई पक्राऊ गरी सोधपुछ गरेपनि दोषी पत्ता लाग्न सकेको छैन । यो घटनाका कारण प्रहरीमाथि अझै दबाब रहेको छ । यसरी पुरानो घटनाको अनुसन्धान नसकिँदै आईजीपी थापामाथि नयाँ घटनाहरु चुनौती बनेर तेर्सिएको छ । यसपटक कोभिड—१९ को जोखिम नभएको भए बझाङमा बालिका बलात्कारपछि भएको जघन्य हत्याकाण्डको विरोधले उग्र रुप लिने थियो भन्ने आँकलन समेत भइसकेको छ ।