डा. कविता क्याल नेपाल पेडियाट्रिक सोशाइटीबाट सर्दार विष्णुमनि आचार्य गोल्डमेडलबाट २००९ मा सम्मानित भएकी थिइन । डा. क्याल हाल बाल रोग विशेषज्ञको रुपमा सुमेरु सिटी हस्पिटलमा कार्यरत छिन् । डा. क्यालले पोखरास्थित मनिपाल कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस सकेर एमडी भारतको मनिपाल हस्पिटल बेंगलोरबाट गरेकी हुन् भने उनी सो ब्याचको विश्वविद्यालय टपर पनि हुन् । डा. क्याल एनएमए, एनइपीएएस (नेपाल), एएपी (अमेरिका), एपीपी (युरोप), एनसीपीको सदस्यसमेत रहेकी छिन् । साथै डा. क्यालले सिंगापुरमा पेडियाट्रिक आस्थमा, एलर्जीको विषयमा स्पेशल तालिम पनि लिएकी छिन् ।बालरोग विशेषज्ञ डा. क्यालसँग खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईले गरेको संक्षित कुराकानीका पूर्ण पाठ पृष्ठ ३ मा
० कोभिड—१९ को असर कत्तिको परेको छ ?
नेपालमा धेरै नै हस्पिटलहरुमा कोभिड —१९ को केशहरु देखिएको छ । तर हाम्रो सुमेरु सिटीमा भने यस्तो खालको केश देखा परेको छैन । अझ भन्नुपर्दा हाम्रो हस्पिटलमा बच्चाहरुमा यस्तो केश देखिएको छैन । बच्चाहरुको हकमा भन्ने हो भने अन्य हस्पिटलहरुमा धेरै नै कोभिड—१९ को केशहरु देखा परेका छन् । सामान्य जनजीवनमा पनि कोभिड—१९ ले धेरै नै असर गरिरहेको छ । सरकारले गरेको लकडाउनमा हाम्रो सेवा सुविधा केही दिनको लागि बन्द गरेतापनि बच्चाहरुको लागि खोपको महत्वलाई ध्यानमा राखी काठमाडौं उपत्यकाका अधिकांश अस्पतालहरुले खोप सेवा बन्द गरेको अवस्थामा पनि विशेष सावधानीका साथ खोपको महत्वलाई बुझी यस्तो सेवाको निरन्तरता हामीले दियौं ।
० डा. सा’व तपाईंकोमा कस्ता खालका बच्चाहरु उपचारका लागि आउँछन् ?
विशेष गरी मकहाँ आउने विरामी बच्चाहरु अधिकांश सिजनल विरामी भएर आउने गर्छन् । जस्तै झाडापखाला, ज्वरो, रुघाखोकी, निमोनियाजस्ता विरामीहरु आउने गर्छन् । तर यो वर्ष कोभिड—१९ का कारण खासै बच्चाहरु विरामी भएनन् । किन भने बच्चाहरु स्कुल नगएका कारण क्रस इन्फेक्सनको सम्भावना धेरै नै कम भएका कारण पनि बच्चाहरु विरामी भएका छैनन् । त्यसैले उपचारका लागि धेरै नै कम बच्चाहरु आएका छन् । गर्मीमा हुने अन्य रोगहरु टन्सिल, टाइफाइड, हेपाटाइटिस, जण्डिस, झाडापखालालगायतका रोगहरु कमी देखिएको छ ।
० भर्खरै जन्मिएका बच्चाहरु विशेष गरी विरामी पर्दा रुने, कराउने गर्छन्, उनीहरुलाई आफूलाई यस्तो भएको छ भन्न सक्दैनन्, यस्तो अवस्थामा बच्चाको रोग कसरी पहिचान गरेर उपचार गरिन्छ ?
हो, त्यसैले त डाक्टर चाहिएको । त्यसैले अभिभावकहरुलाई बच्चा विरामी भयो भने सिधै हस्पिटल ल्याउनुहोस् भनेर हामी आग्रह गछौं । मलाई दुःख लाग्छ ज्वरो आउँदा, बच्चा रुने कराउने, डायरिया भयो भने अभिभावकले लोकल मेडिकलमा गएर औषधी खरिद गरी आफूखुसी औषधी खुवाउने गर्छन् । त्यसबाट औषधीको मात्रा थपघट हुन सक्छ त्यसबाट बच्चालाई कत्तिको इन्फेक्सन भएको छ त्यो उहाँहरुलाई थाहा हुँदैन । बच्चालाई झन् समस्यामा ल्याउन सक्छ । ज्वरो भनेको कुनै इन्फेक्सनको कारण आउने हो । इन्फेक्सन कसरी भएको छ, कुन अंगमा भएको त्यो जाँच गरी कुन औषधी चलाउँदा ठिक हुन्छ औषधीको मात्रा कति खाँदा हुन्छ सोही अनुसार औषधी चलाउँछौं । म के अनुरोध गर्दछु भने, बच्चा विरामी भएको खण्डमा डाक्टरकोमा नै ल्याउन आग्रह गर्छु । किनकी डाक्टरले के कारण डायरिया भएको छ, के कारण खोकी लागेको छ, के कारण बच्चा रोइरहेको छ, ज्वरो आउनुको कारण के हो त्यो सबै परिक्षण गरी रोग पत्ता लगाई औषधी प्रयोग गर्ने गर्छन् । बच्चालाई डायरिया भयो भने लोकल मेडिकलमा गएर औषधी खरिद गर्ने परम्परा छ । झाडापखालाको कम्प्लीकेशन डिहाइड्रेसन हुने गर्छ, डिहाइड्रेसनबाट बच्न १० रुपैयाँको जीवन जल खाँदा हुन्छ । तर, मेडिकलवालाले त्यो नगरी पाँच सात सय रुपैयाँको औषधी दिने गर्छन् । तर, ज्यान जोगाउने एउटा जीवनजल खुवाउन सल्लाह दिँदैनन् । यस्तो प्रवृत्तिप्रति सबै सचेत हुनका लागि म आग्रह गर्न चाहन्छु ।
० बच्चाहरुलाई एन्टीभाइटिक नै प्रयोग गर्नुपर्ने कत्तिको उचित हो ?
बच्चालाई एन्टीभाइटिक नै प्रयोग गर्नु उचित होइन । तर, बच्चा कुन रोगको विरामी हो त्यो पहिचान गरेर एन्टीभाइटिक प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ । साधारण औषधीले नहुने, घरायसी औषधीले नहुने अवस्थाका विरामीलाई एन्टीभाइटिक प्रयोग गर्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यसैले रोगको अवस्था हेरी डाक्टरसँग सल्लाह गरेर मात्र औषधी प्रयोग गर्न म सल्लाह दिन्छु ।
० बच्चाहरुलाई महामारी र विभिन्न रोगप्रतिरक्षाका लागि खोप लगाइने गरिन्छ, विशेष कति उमेरसम्मका लािग यस्ता खोप लगाउने गरिन्छ ?
खोप भनेको महत्वपूर्ण कुरा हो । तर नेपालको परिवेशलाई भन्ने हो भने खोपको विषयलाई लिएर जनचेतानामूलक कार्य प्रयाप्त रुपमा हुन सकिरहेको छैन । वास्तवमा सरकारले निःशुल्करुपमा दिने जति खोप छ त्यति मात्रमा सीमित छ । नेपाल सरकारले १३ वटा खोप निःशुल्करुपमा दिने गरेको छ, जुन १५ महिनाभित्र लगाइसक्नुपर्ने हुन्छ । रोग प्रतिरक्षाका लागि यति खोपले मात्र पुग्दैन । टाइफाइड, ठेउला, निमोनिया, फ्लु, जण्डिस, मेनेजाइटिसलगयातका रोगहरुबाट बच्नको लागि १५ वर्षको उमेरसम्म नियमित खोप लगाउनुपर्छ । वास्तवमा निमोनिया र फ्लुका लागि नियमित खोप लगाउन हामी अनुरोध गर्छौं । सरकारले निःशुल्क भनेर दिएको १३ वटा खोप आवश्यक छ, तर डाक्टरले दिएको सल्लाहअनुसार १३ वटा खोपपछि पनि निरन्तर १५ वर्षसम्मका अरु अफसनल र एडिस्नल दिनुपर्ने खोप जरुरी छैन भन्ने जनमानसको बुझाई छ । यो एकदम गलत हो । यस विषयमा हरेक जनसमुदायमा पुग्ने गरी यस्तो कुराको जनचेतनामूलक सूचनाहरु जरी गर्नुपर्ने अवस्था छ । खोप भनेको कुनै पनि रोग लाग्नबाट बच्नको लागि लगाइने खोप हो, कुनै पनि रोगका प्रतिरक्षाका लागि लगाईने खोप हो भन्ने जानकारी जनमानसमा लैलानुपर्ने आवश्यक भइसकेको छ । जस्तो अहिले कोरोना भाइरसको महामारी फैलिरहेको छ, यसको खोप लगाउनुप¥यो भने प्रायः सबै यो खोप लगाउन तम्तयार हुन्छन्, तर फ्लु अर्थात कुनै महामारीबाट हुने सम्भावित रोगको लागि खोप लगाउन भने कोही पनि तयार हुँदैनन् । यस्तो विषयमा भने सरकारले प्रत्येक जनताले बुझ्ने गरी जनचेतनामूलक कार्यक्रमहरु देशका कुनाकुनामा लैजानुपर्ने आवश्यकता भइसकेको छ ।
० खोप लगाउँदा कहिलेकाहिँ समय तालिकाभन्दा तलमाथि हुँदा त्यतिबेला खोपले काम गर्छ कि गर्दैन ?
खोप लगाउँदा समयसिमा भित्रै लगाउँदा अत्यन्तै उपयुक्त हुन्छ । यसको लागि समयसिमा तोकेको अवधिको जानकारी आफूले लिई सोही समयअनुसार नै खोप लगाउउनुपर्छ । किनभने एउटा खोप लगाउन केही दिन ढिला भयो भने अरु पछि लगाउने खोपमा पनि ढिला हुन्छ । यसले बच्चाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ ।विशेष गरी कोरोना भाइरसका कारण नियमित लगाउनुपर्ने खोपहरु ल्गाउन ढिला भएको पाइएको छ ।कोरोना भाइरसका कारण आफूहरु पनि कोरोना भाइरसको संक्रमित होइन्छ कि भन्ने डरले कतिपयहरुले बच्चालाई नियमित लगाउनुपर्ने खोपहरु पनि समयमा लगाउन हस्पिटल आएको पाइएन । यसले गर्दा कोरोना भाइरसको डरले गर्दा नियमित लगाउनुपर्ने खोप नलगाउँदा अन्य रोगले पनि आक्रमण गर्ने सम्भावना बढ्ने हुन्छ । सोही कारण खोप लगाउँदा म डाक्टरको हिसावले नियमित खोप लगाउन अनुरोध गर्दछु । किनकी एउटा रोगबाट बच्नको लागि नियमित लगाइरहेको खोप नलगाउँदा अन्य रोगले आक्रमण गर्ने सम्भावना त्यतिकै मात्रमा हुन्छ ।
० सरकारले निःशुल्क रुपमा १३ वटा खोपको सुविधा दिएको छ, यो सुविधा सर्वसाधारणले लिइरहेका छन्, तर त्यो भन्दा बढी खोप लगाउनु पर्छ भन्ने कतिपयलाई जानकारीछैन, यसबारेमा सरकारले किन देशका कुना—कुनासम्म जनचेतनामूलक कार्यक्रमहरु नल्याएको ?
सरकारले के गर्छ, के गर्दैन त्यो बारेमा कुरा नगरौं, वास्तवमा हामीकहाँ आएका पेसेन्टहरुलाई भने हामीहरुले जानकारी गराउने गरेका छौं । हाम्रो हस्पिटलको कार्डमा पनि त्यसबारे उल्लेख गरेका छौं । हाम्रो सुमेरु सिटी हस्पिटलको कार्डमा सरकारले दिएको १३ वटा निःशुल्क खोप र थप खोपको बारेमा जानकारी गराएका छौं । यो निःशुल्क खोपपछि लगाउनुपर्ने भ्यासिक्न लगाउन अभिभावकको इच्छाअनुसार हुन्छ । अभिभावकलाई एडिस्नल खोपको बारेमा जानकारी गराउन व्यानर, विभिन्न खोप दिवसको अवसर पारेर जानकारी गराउने गरेका छौं । यसबारे विभिन्न संचार माध्यमहरुमा जनचेतनामूलक जानकारीहरु गराइरहेका छौं । खोप पनि एक किसिमको उपचार र रोग प्रतिक्षाका लागि लगाइने भएकै कारण संचार माध्यम, ब्लगदेखि लिएर विभिन्न कार्यक्रमहरुमा पनि यसबारे हामीले जनचेतनामूलक कार्यहरु गर्दै आइरहेका छौं ।
० अहिलेको आधुनिक परिवेशमा भइरहेको बच्चाहरुको प्यारेन्टिङलाई कसरी हेर्नुहुन्छ ?
आजको मोर्डन प्यारेन्टिङ असाध्यै दुःखदायी अवस्थामा छ । विगत दश वर्ष अगाडि हामीहरुले कितावमा बढ्थ्यौं । तर यो दश वर्षको विचमा अभिभावकहरुले बच्चाहरुलाई चाहिने वातावरण दिन सकिरहेको अवस्था छैन । किन भने बच्चाहरुको लागि संयुक्त परिवारको अत्यावश्यक हुन्छ । त्यसमा उसले हजुरबुबा, हजुरआमादेखि लिएर दिदी भाई, काकाकाकी र उनीहरुको बच्चाहरुको माया पाइरहेको हुन्छ । त्यस्तो संस्कारबाट हुर्किएको बच्चाले आफ्नोपनाको महसुस गर्छ । त्यतिबेला खुलेर कुरा गर्ने, खेल्ने वातावरण हुन्छ । तर, अहिले प्रत्येक व्यक्तिले एक वा दुई त्यो पनि धेरै वर्षको अन्तरमा बच्चा जन्माउने गर्छन् । त्यस्ता बच्चाले खेल्नका लागि आफ्ना सहपाठी कसरी पाउने ? अनि व्यस्तताका कारण आमा बुबाले आफ्ना बच्चाहरुलाई कसैको जिम्मेवारीमा दिने गर्छन्, आफ्नो बच्चालाई आफूले हेर्ने फुर्सद हुँदैन भने अरु कसैको जिम्मेवारी दिएका व्यक्तिले कस्तो व्यवहार गरेर हेर्छ होला ? त्यसबाट नै बच्चाको मेन्टालिटी परिवर्तन हुनु स्वभाविक हो । अहिलेको जवानामा मिडिया ब्यापकरुपमा विकसित भइसकेको छ । यसले हामीलाई जति असर गरेको छ काम गर्नेलाई पनि त्यति नै असर पारेको हुन्छ । हामीहरुले त बच्चालाई केयर गर्ने समय हुँदैन भने काम गर्नेले पनि कत्तिको केयर गर्छ ?जस्तो हामी कामको सिलसिलामा दिनभरी व्यस्त रहँछौं, घरमा गएपछि आफूलाई पनि थकानको महसुस हुन्छ, त्यतिबेला बच्चालाई खेलाउने तिर भन्दा पनि मोवाइल दिएर भुलाउने काम गर्छौं । अझ खाना खानेबेलामा पनि मोवाइल अगाडि राखेर खाना खुवाउने गरिन्छ । यसबाट पनि बच्चालाई यस्तो लत लाग्ने गर्छ र यसले कालान्तरमा ठूलै समस्या निम्त्याउन सक्छ ।
० डा. सा’व यसको रोकथामको उपाय के होला ?
हाम्रो बच्चालाई सानो परिवार होइन संयुक्त परिवारको आवश्यकता छ । हुजुरबुबा, हजुरआमाको माया चाहिन्छ । उनीहरुको काखमा खेलेर हुर्केको बच्चाहरुलाई धेरै नै कम मेन्टल डिस्अर्डर हुन्छ । हामीले पनि अहिले बच्चाहरुलाई मोवाइललगायत इलोक्ट्रोनिक्स गेमहरुको लत लाग्नुभन्दा पहिला यसबाट बच्चाहरुलाई कसरी टाढा राख्नुपर्छ भन्नेतिर लाग्नुपर्छ । जस्तो बच्चालाई पर्याप्तरुपमा समय दिनुपर्छ, विभिन्न इन्डोर, आउटडोर गेमहरु आफूपनि खेल्ने र उसलाई पनि खेलाउने गर्नुपर्छ । बच्चा के गर्दा खुसी हुन्छ त्यो अनुसारको वातावरण बनाउनुपर्छ । टाइम टेबलअनुसार पढ्ने, खेल्ने, घुम्ने इत्यादी गतिविधिमा व्यस्त राख्न सकेको खण्डमा मोवाइललगायत इलोक्ट्रोनिक्स गेमहरुमा बच्चाहरुको लत लाग्ने खतरा हुँदैन ।
० कोभिड—१९ का कारण बच्चाहरु होम आइसोलेसनमा छन्, उनीहरुलाई विगत ६ महिनादेखि अनलाइन क्लासहरु लिइरहेको छ यसबाट बच्चाहरुलाई असर पर्छ कि पदैन ?
मेरो विचारमा अनलाइन क्लासबाट फाइदा र बेफाइदा दुबै छ । कोभिड—१९ का कारण बच्चाहरु स्कुल जान नपाएको झण्डै ८ महिना बितिसकेको छ । यस अवधिमा बच्चाहरु होम आइसोलेसनमै बस्न बाध्य छन् । होम आइसोलेसनमा बसेका बेला बच्चाहरुले अनलाइन क्लास लिँदा राम्रै हो । यदि अनलाइन क्लास नलिएको भए पनि उनीहरु मोवाइल, इलोक्ट्रोनिक्स गेम, टेलिभिजनमा कार्टुन हेरेर नै दिन काट्ने काम गर्थे भने त्यो समयमा अनलाइन क्लास लिनु त मेरो विचारमा राम्रै हो । त्यसबाट पनि केही ज्ञानगुनका कुराहरु सिक्ने अवसर पाउँछन् । केही समय बच्चाहरु अनलाइन क्लासमा व्यस्त रहे पनि अन्य समयमा भने ठूला बच्चा छ भने किचनको कामदेखि घरभित्रका अन्य सरसफाईका कामहरुमा व्यस्त बनाउने, सानो बच्चा छ भने उसलाई आउटडोर गेमहरु खेलाउने, विभिन्न शारीरिक परिश्रम हुने खालका गतिविधिहरु गराउने, घरको सरसफाईदेखि अन्य दैनिक जीवतमा गर्नुपर्ने कामहरु आफूले पनि गर्ने र बच्चाहरुलाई पनि गराउने लगाउने । यसरी उनीहरुलाई व्यस्त बनाएको खण्डमा पनि मोवाइललगायतका लतहरु कम हुने गर्छ । वास्तवमा भन्ने हो भने पहिलो अभिभावकले नै सुध्रिनुपर्ने अवस्था छ । किनकी हाम्रो परिवारमा तिन जना छन् भने तिनै जना तिनतिर मोवाइलमा व्यस्त हुने गरेको पाइन्छ । यस्तो अवस्थामा बच्चाले के सिक्ने आमा बुबाले जे गतिविधि ग¥यो त्यही गर्ने हो । त्यसैले पहिला आमा बुबा सुध्रिनुप¥यो अनि मात्र बच्चाहरु पनि सुधिन्छन् । आमाबुबाले बच्चाको लागि ल्यापटप, प्याड, मोवाइल खरिद गरिदिन्छन् भने त्यो बच्चाले त्यस्तो सामान नचलाएर के चलाउने ? त्यसैले पहिला आमाबुबा नै यसबाट सुध्रिनुप¥यो अनि मात्र बच्चा सुध्रिन्छ ।
० बच्चा जन्मदा अपाङ्ग, कुनै अङ्ग नै नभएको बच्चा जन्मन्छन्, कस्तो अवस्थामा यस्ता बच्चा जन्मने गर्छन् ?
अपाङ्ग, अङ्गभङ्ग भएको बच्चा जन्मने धेरै नै कारणहरु छन् । एउटै कारण भनेर तोक्न मिल्दैन । गर्भवती महिलाले के काम गरिरहेको छ, कस्तो औषधीहरु प्रयोग गरेको छ, मेन्टल्ली ऊ कत्तिको खुसी छ, खानपिन, पारिवारिक वातावरण, हाइपरटेन्सनलगायत थुप्रै कारणहरु हुन्छन् । एउटै फ्याक्टरले मात्र काम गरिरहेको हुँदैन । युरिन इन्फेक्सन, पाठेघरको मुखको इन्फेक्सनलगायत थुप्रै कारणहरु हुन्छन् । यस्तो अवस्थामा गर्भमा रहेको बच्चालाई पनि असर गरिरहेको हुन्छ सोही कारण अपाङ्ग, अङ्गभङ्ग भएका बच्चाहरु जन्मने सम्भावनाहरु हुन्छन् ।
० कुनै बच्चा हेर्दा स्वस्थ देखिन्छ तर बोल्न सक्दैनन्, त्यो के कारणले हुन्छ ?
हामी बच्चा नबोलेपछि त्यसलाई लाटो भन्छा्रैं । तर, बच्चा नबोल्ने पनि कारण हुन्छ, जस्तो हाइपोथायरायडिज्म, जेनेटिक डिसअर्डर, टङ टाइ अटिजमलगायत हो । बच्चा जन्मेको सात दिन भित्र हाइपोथायरायडिज्मको चेक नगरेको कारणले नै कतिपय बच्चाहरु लाटो हुने गर्छन् । विश्वको परिवेशमा भन्ने हो भने हरेक बच्चा जन्मेको तिन दिनपछि थायरायड चेक गर्ने गरेको छ । तर नेपालमा अहिलेसम्म पनि यो चेकजाँच गर्ने गरेको पाइँदैन ।
० खोप लगाउन आउँदा डाक्टरलाई भेट्नु किन जरुरी छ ?
खोप लगाउन आउँदा डाक्टरलाई भेट्ने नियम बनाउन जरुरी छ । किन भने तपाई दुई वर्षसम्म नियमित रुपमा बारम्बार खोप लगाउन आउँदा बच्चाको मुख्य कुराहरु पनि ध्यान दिइएको हुन्छ । जस्तै, बच्चाको ग्रोथ एण्ड डेभलपमेन्ट, बच्चाको तौल, टाउकोको बढाई सबै हेरिन्छ । जसले गर्दा बच्चा कुपोषण, मोटो अथवा टाउको ठूलोसानो हुने बारे जानकारी हुन्छ । भिटामिन डिफिसेन्सीहरु भएको खण्डमा भिटामिन सप्लिमेन्टहरु दिइन्छ । डेभलपमेन्टल माइलस्टोन, बच्चाले समयमै हाँस्ने, बोल्ने, बस्ने, हिँड्नेदेखि सबै गतिविधि हेरिने गरिन्छ । जसले गर्दा डेभलपमेन्टल डिले डिसअर्डर सामान्य पत्ता लगाउन सकिन्छ । नेपाल सरकारले निःशुल्क दिएको खोपहरुबाहेक अन्य खोपहरु पनि लगाउनुपर्छ भन्ने जानकारी गराइन्छ । बच्चाहरुमा लाग्ने रोगहरु जस्तै, जण्डिस, हाइपोथाइराइडिजम, जेनेटिक डिसअर्डरहरुको समयमै पहिचान गरी उचित सल्लाह लिई उपचार गराउनका लागि पनि डाक्टरलाई नै भेट्दा नै राम्रो होला ।
० अहिले बच्चालाई आमाले आफ्नो दुध खुवाउनेभन्दा पनि बोतलबाट दुध खुवाउने बढि देखिएको छ, यसबारेमा तपाईंको धारणा के छ ?
कुनै पनि आमाको बच्चालाई दुध खुवाउन पाउनु भनेको भगवानको बरदान नै हो । बच्चाले आफ्नो आमाको दुध खान पाउनबाट बञ्चित गराउने प्रवृत्तिलाई तोड्नै पर्छ । आमाको इच्छा हुँदा हुँदै पनि कतिपय बच्चालाई दुध खुवाउन सकिरहेको अवस्था छैन । यसमा सरकारको दोष देख्दछु । किन भने सरकारले विभिन्न संचार माध्यममा आमाको पोसिलो दुध बच्चालाई कम्तिमा ६ महिनासम्म खुवाउनुपर्छ भनेर विभिन्न संचार माध्यमहरुमार्फत जनचेतनाका सूचनाहरु जरी गरेको हुन्छ । त्यही सरकारले सुत्केरी विदा जम्मा ४५ दिन दिन्छ । अनि कसरी ६ महिनासम्म ती महिलाले आफ्नो बच्चालाई दुध खुवाउन सक्छिन् । सोही कारण पनि बोतलको दुध खुवाउन वाध्य हुनु परेको अवस्था छ । कुन आमाले आफ्नो बच्चालाई दुध चुसाउँदैन । नौ महिनासम्म पेटमा बच्चालाई हुर्काएपछि बल्ल आमाको दुध आउँछ । यस्तो अवस्थामा आमाले बच्चालाई दुध नखुवाउने भन्ने प्रश्नै आउँदैन । तर, आमालाई आफ्नो बच्चालाई दुध आउन्जेल खुवाउने वातावरण सरकारले गरिदिनुप¥यो । अनि बच्चा हेल्दी हुने अवस्था आउँछ । सुत्केरी भएको दुई महिनापछि अफिसले काम गर्न बोलाइहाल्छ, यस्तो अवस्थामा बच्चाले समयमा दुध कसरी खान पाउँछ । त्यसैले पनि बच्चालाई पेट भर्नकै लागि पनि बोतलको दुध खुवाउन वाध्य छन् आमाहरु । यस्तो अवस्थामा परिवारको सहयोगी भूमिका अति महत्वपूर्ण देखिन्छ । आमालाई राम्ररी हेरविचार गर्ने, पौष्टिक आहार खान दिने गरेमा मात्र आमाको शरीरले दुध बढाउने शक्ति बढ्छ । बच्चालाई बोतलको दुध खुवाउनु हरेक आमाहरुको बाध्यता हो खुसी होइन ।