काठमाडौं । पोखराको फेवातालको ड्यामसाइड दक्षिणतर्फबाट पूर्वतर्फ मोडिएर नयाँ विमानस्थलतर्फ अघि बढ्दै गर्दा विमान खसेको प्रत्यक्षदर्शी र उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।
पोखरामा भएको विमान दुर्घटनामा चालक दलले दुर्घटनाबाट बस्ती जोगाउन हरसम्भव प्रयास गरेको देखिएको छ । दुर्घटनास्थलमा उद्धारमा खटिएका सुरक्षाकर्मीहरुकाअनुसार विमान पुरानो आन्तरिक विमानस्थलको पूर्वपट्टी रहेको नेपाली सेनाको ब्यारेक पछाडि विमान खसेको हो ।
नयाँ विमानस्थलतर्फ ल्याण्ड गर्नका लागि मोडिएको अवस्थामा विमान घनाबस्ती माथि उडिरहेको थियो । ‘विमान एक मिनेट मात्रै ढिला दुर्घटना परेको भए पुरानो विमानस्थल माथि खस्ने थियो,’ एक उद्धारकले भने, ‘एक मिनेट मात्रै थप अघि बढेको भए रामघाट बजार माथि जहाज बजारिने थियो ।’
यती उयरको विमान दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् । महानगरको दमकलले आगो निभाउने प्रयास पनि जारी राखेको छ ।