नामले व्यक्तित्वमा प्रभाव

21.1k Shares

गोपाल ढकाल, मनोविद

 

अनुमान गर्नुहोस त यदि कुनै पनि वस्तुको नामै नभएको भए के हुन्थ्यो होला ? तर, संसारमा नाम नभएको कुनै चिज वा बस्तु नै हुँदैन । कुनै नयाँ वस्तुको आविस्कार वा नयाँ कुरा पत्ता लाग्ना साथ सबैभन्दा पहिले यसलाई  नामाकरण गर्ने गरिन्छ ।

मानिस जन्मेपछि पनि सबैभन्दा पहिला गर्ने कर्म नामकरण वा न्वारान नै हो । विभिन्न धर्म संस्कारहरुमा न्वारानको महत्वलाई दर्शाएको पाइन्छ ।  नामाकरण संस्कार वा न्वारान  हिन्दु धर्मका सोह्र संस्कारमध्ये एक हो ।  शिशु जन्मेको ११ औँ दिनमा न्वारान गर्ने गरिन्छ ।

ज्योतिषशास्त्रमा नामाकरण गर्ने आफ्नै तरिका हुन्छ । ज्योतिषशास्त्रमा नामले ठूलो महत्व बोकेको हुन्छ । मानिसको नामबाट नै राशि बन्ने र यसैको आधारमा उसको ग्रह – दशा , भाग्य र  भविष्य समेत हेर्ने गरिन्छ । विशेषत  नामकरण गर्दा बालक जन्मिएको महिना, गते, बार, समय, ठाउँ अथवा बाबुआमाको मन लागेको नामको आधारमा गर्ने गरेको पाइन्छ ।

नाम  ब्यक्तिलाई चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो उसको पहिचान बन्छ । यसो सोच्दा ‘नाम’ भन्ने कुरा  सामान्य जस्तोलाग्छ  तर ‘नाम’ ले निकै ठुलो महत्त्व राख्छ । हामी जीवनभर त्यही नाम बोकेर बाँच्छौं । आफु मरेपनि ‘नाम’ बाँचिरहोस् भन्ने आकांक्षा राख्छौं । यति मूल्यवान् छ, नाम ।

नामले  व्यक्तित्वमा प्रभाव

मनोवैज्ञानिक रूपमा पनि नामले मानिसको जीवनमा गहिरो  प्रभाव पारिरहेको हुन्छ । नामले मानिसको  व्यक्तित्व निर्माणमा समेत असर  परिरहेको हुन्छ । नामको आधारमा पनि अरूले आफुलाई हेर्ने दृष्टिकोण निर्माण गरिरहेका हुनसक्छ ।  नामको कारणले पनि व्यक्तिको जीवनमा सकारात्मक वा नकारात्मक दुबै किसिमको प्रभाव परिरहेको हुनसक्छ । नामकै आधारमा पनि मानिसले कसैमाथि सकारात्मक वा नकारात्मक धारण वनाई रहेका हुनसक्छन् ।

सबै मानिस आफ्नो छुट्टै र अरूभन्दा पृथक पहिचान (नाम) बनाउन चाहन्छन् । नाम हाम्रो जीवनभर रहने स्वयं पहिचानको सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो ।   यदि मानिसको कुनै पहिचान नहुने हो भने, उसमा परिचयको संकट देखापर्न सक्छ । परिचयको संकट प¥यो भने व्यक्तिले आफ्नो कुनै अस्तिव्त नै देख्दैन । यस्तो अवस्थामा उसमा नैराश्य जस्ता मनोवैज्ञानिक समस्याहरु देखा पर्न सक्छन् ।

अमेरिकी मनोवैज्ञानिक जीन टेवङ्गीको नेतृत्वमा सन् २००० को दशकमा भएको अध्ययनले आफ्नो नाम नरुचाउने व्यक्तिहरूको मानसिक तनाव व्यवस्थापन गर्ने क्षमता कमजोर भएको ,आत्मविश्वासको अभाव भएजस्तो देखाएको थियो ।

बेइजिङ इन्स्टिच्यूट अफ साइकोलोजीका हुवाजीन चाइ र उनका सहकर्मीहरूले अपराधमा दोषी ठहर हुने जोखिम भएका दशौँ हजार व्यक्तिका नामको परीक्षण गरेका थिए ।

उक्त अध्ययनमा कम चल्तीमा रहेका वा बढी नकारात्मक अर्थ दिने नाम भएका व्यक्तिहरू अपराधमा बढी संलग्न भएको पाइएको थियो ।

घरपरिवार, समाज, नजिक र चिनजानका व्यक्तिको एउटै नाम भयो भने पनि उनीहरुमा परिचयको संकट पर्न जान्छ । यस्तो अवस्थामा उपनामको आवश्यकता महशुस गरिन्छ । मानिसहरु “प्रचण्ड “, बादल “भूतको साथी“, “वैरागी“, “यात्री“, “चट्याङ मास्टर“, आदिजस्ता नाम तथा उपनाम राखेर आफ्नो फरक चिनारी बनाउने प्रयास गर्दछन् । यस्ता नामले आफु अरुभन्दा फरक रहेको आत्मविश्वासको विकास गरेर जीवनमा सफल र चर्चित समेत हुनसक्छन् ।

यस्तो कुरामा साधारण व्यक्तिभन्दा कलाकार, साहित्यकार, नेता जस्ता विशिष्ट व्यक्तिहरु बढी संवेदनशील भएको पाइन्छ ।  एउटा समूह, संघसंस्था आदिमा आवद्ध सदस्यहरुबीच पनि परिचयको संकट नपरोस् भन्नका लागि विभिन्न पद सिर्जना गरेर त्यहा भित्र पनि एक अर्काबीच फरक परिचय खोज्ने प्रयास गरिन्छ । एउटा संस्थामा किन एक जना मात्र अध्यक्ष वा सभापति हुन्छ ? देशको प्रधानमन्त्री किन दुईजना हुन सक्दैनन् ? यसको मनोवैज्ञानिक कारण पनि परिचयको संकट हुनबाट रोक्नु नै हो ।

सबै मानिसलाई आफ्नो नाम प्रिय लाग्छ । उनीहरु आफ्नो नाम पटक–पटक अरूको मुखबाट उच्चारण होस भन्न चाहन्छन् । नामले बोलाउँदा उनीहरुमा गर्व महसुस हुन्छ । नामले सम्बोधन गर्दा मानिसहरुमा गहिरो प्रभाव पर्न जान्छ । तर, यति महत्वपूर्ण कुरालाई अरूले मन पराएनन् र नामको आलोचना गरे भने यसले मानिसमा मनोवैज्ञानिक असर पर्न सक्छ ।

हाम्रो समाजमा यस कुराप्रति त्यति ध्यानदिएको पाईदैन । न्वारन गर्दा पण्डितले राखेको नामलाई नै आधिकारिक मानिन्छ र सकेसम्म यसलाई परिवर्तन गर्न दिईदैन । हामी ठूला भएर आफ्ना लागि नाम परिवर्तन गर्न नचाहेसम्म हामी अधिकांश जन्मका बेला दिइएको नामले काम चलाइरहेका हुन्छौं ।

नामाकरण गर्दा ख्याल गरौ

हामीकहाँ धेरैजसो नामहरु देवीदेवताको नामबाट राख्ने गरेको पाइन्छ । राम, सीता, हरि, लक्ष्मी, सरस्वती, शिव, भगवती,गोपाल आदि हाम्रो समाजमा धेरै प्रचलित नाम हुन् । यसरी धेरै व्यक्तिको एउटै नाम हुँदा एकातिर व्यवहारिक समस्या देखिन्छ भने अर्कोतर्फ परिचयको संकट पर्न जान्छ । अहिलेका युवापुस्ताले यस्ता नामहरु कमैमात्र मन पराउँछन् । एलिसा (पुरानो नाम भगवती) लाई भगवती भनेर बोलाएको पटक्कै मन पर्दैन । कसैले भगवती भनेर बोलाउँदा उनलाई रिस समेत उठ्ने गर्छ ।

मानिसको व्यक्तित्व निर्माणमा नामले ठूलो प्रभाव पारिरहेको हुन्छ  । व्यक्तिलाई कुनै  नामले घृणित र अपमानित गरेर बोलाउँदा उसको आत्मसम्मान, आत्मविश्वासमा ह्रास आई उसले आफूलाई त्यही रूपमा हेर्न थाल्छ । सबैले स्वीकार्ने र मन पराउने नाम भयो भने मात्र व्यक्तिले आफ्नो नामप्रति गौरव गर्छ । ऊ नाम  अनुसारको काम गरेर आफ्नो नामलाई सार्थक बनाउने प्रयत्न गर्छ । यस विपरीत हुँदा भने उसमा हिनताबोध उत्पन्न हुन्छ ।

कतिपय अवस्थामा बाबुआमाले माया गरेर बोलाउने नामले पनि व्यक्तिमा हीनताबोध ल्याउँन सक्छ  । आफ्नो व्यक्तित्वभन्दा उल्टो नाम हुँदा गिल्ला गरेजस्तो, आफूलाई जिस्क्याए जस्तो भान हुनसक्छ । ‘

सम्बन्धित समाचार