चितवन । सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादीकी नेतृ विना मगरको सिफारिसमा जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका एसपी नवराज अधिकारीको आर्थिक संकलन अभियानले संगठनकै बदनाम हुन पुगेको छ ।
सरुवा भएको केही महिना उनी अनियमितता नलागे पनि पछिल्ला दिनमा उनको ध्यान अर्थ संकलन अभियानमै बढी केन्द्रित हुने गरेको स्रोत बताउँछ । उनले मुद्दा फाँटमा राखेका पात्र र घुमुवाले प्रहरीकै छविमा आँच आउनेगरी काम गरेको स्रोतले बताएको छ ।
दुई महिनाअघि डीएसपी नरहरि पण्डितले नै प्रहरीले खुलेआम जुवाअखाडादेखि क्रसर र तस्करहरुसँग पैसा माग्ने गरेको बिषय उठाएका थिए । स्टाफ मिटिङमै प्रहरीको अनियमितताको बिषय उठाएपछि पण्डितसँग एसपी अधिकारी आक्रोसित भएका थिए । एसपी अधिकारीले मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट दररेट तोकेर घुस लिने गरेको आरोप छ । मासिक २५ देखि चौकी हेरी १ लाखसम्म दररेट तोकेर इन्चार्ज खटाउने गरिएको छ । सबैभन्दा बढी दररेट बुझाउने चौकीमा जुगेडी, गोन्द्राङ, चनौली, फिस्लिङ, भोजाड, बसपार्क, पदमपुर, रामपुर, शारदानगर, सौराहा, पंचकन्या, लोथर छन् । ईच्छाकामना, कल्याणपुर, शरणपुर, पार्वतीपुर, चैनपुर सौराहा, सितारामचोक, बरूवा, सोमेश्वर, जुटपानी चौकीका इन्चार्जलाई समेत दररेट तोकिएको छ ।
इलाका प्रहरी कार्यालय रामनगर, चनौली, दिब्यनगरका इन्चार्जलाई पनि दररेट तोकिएको छ । चौकीमा असई र सई इन्चार्ज हुन्छन् भने इप्रकामा इन्स्पेक्टर रहने ब्यवस्था छ । चितवनमा सबै बढी लोकल रक्सी र काठको ओसारपसार हुने पद्मपुर नाकादेखि प्रहरी संरक्षणमा चनौलीमा जुवा अखाडा संचालन हुने गरेको छ । भरतपुरदेखि टाढा रहेको चनौलीमा प्रहरीकै संरक्षणमा जुवा अखडा संचालन भइरहेकाले चितवनभरका जुवाडेहरु जाने गरेका छन् । एसपी अधिकारीले मुद्दा शाखामा विवादित सई राम कार्कीलाई राखेका छन् । विगतमा धेरै ठाउँमा अनियमिततामा मुछिएर कारबाही समेत भोगिसकेका हुन् । कार्की गौशाला बृत्तको मुद्दामा हुँदोखेरि धेरै गुनासा आएपछि काठमाडौंका तत्कालीन एसएसपी रमेश खरेलले घुस्याहाको संज्ञा दिएर सरुवा गरेका थिए । कार्की सप्तरी, महोत्तरीको मटिहानी चौकीमा समेत विवादमा आएका थिए । बारा जिल्ला प्रहरीको मुद्दा शाखादेखि चाहविको गंगाहिटी बिटमा समेत असुलीकै कारण उनी विवादमा परेका थिए । बुढानीलकन्ठ प्रभागमा हुँदा बालुवाकाण्ड लागेपछि स्पष्टीकरण सोधेर नसिहत नै पाएका थिए । यिनै विवादित कार्की र इन्स्पेक्टर कुशलकुमार बर्तौलाले मुद्दामा चेक बाउन्सदेखि विभिन्न उजुरीमा मोलमोलाई गर्दैआएका छन् । स्रोतका अनुसार चेक बाउन्सको उजुरी लिएर जाने सेवाग्राहीसँग ५० लाख रुपैयाँको छ भने आधा रकम माग्ने गरेका छन् । कार्की र बर्तौलाले अदालतमा मुद्दामामिलामा जाँदा बर्षौ लाग्ने भन्दै ५० प्रतिशत रकम दिने भए थुनाएर उठाइदिने भन्दै सेटिङ मिलाउने गरेको आरोप छ । चेक बाउन्सको रकम ठूलो छ भने लेनदेनको कुरा इन्स्पेक्टर बर्तौला र ५–१० लाखको उजुरीमा कार्कीले मिलाउने गरेका छन् । चेक बाउन्सदेखि मुद्दाबाट आएको घुसको रकम एसपीलाई ७५ प्रतिशत दिने गरेकाले उनीहरुका जुनसुकै कुरामा पनि क्षम्य हुँदैआएका छन् ।
त्यसैगरी, म्यादी प्रहरीको कपडा खरिदमा समेत एसपी अधिकारीले राम्रै आम्दानी गरेको चर्चा छ । चितवनमा ६८ प्रतिशत स्थानीय चुनावमै छनोट भएका पुराना म्यादी प्रहरी राखेर चुस्तादेखि जुत्तामा ठेकेदारसँग मिलेर चप्काएको आरोप एसपी अधिकारीलाई लागेको छ । स्थानीय निर्वाचनमा दिइएका पोशाक र जुत्ता नै म्यादीलाई प्रयोग गर्न लगाएर आधी रकम दिई ठेकेदारलाई ३२ प्रतिशत म्यादीलाई मात्र कपडा र जुत्ता आपूर्ति गर्न लगाएर लाभ लिने काम एसपीले गरेको स्रोत बताउँछ । अख्तियारका एक आयुक्तको सिफारिसमा म्यादी प्रहरीको ठेक्का पाएका पुस्कर पराजुलीले चितवनमा भर्ना भएका मध्ये ३२ प्रतिशत म्यादी प्रहरीलाई मात्र कपडा दिएको स्रोत बताउँछ । म्यादीको पोशाकमा समेत कागज मिलाएर ठेकेदार र एसपीले भागशान्ति गरेका छन् । त्यसैगरी एसपी अधिकारीले हवल्दार सुरेन्द्र साहलाई घुमुवा राखी बीरगंज र बाराबाट आएका मालबाहक ट्रकसँग पनि असुली गर्न परिचालन गरेका छन् । १० बर्ष मकवानपुरको पशुपतिनगरमा घुमुवा बसी अनियमितताका धेरै उजुरी परेपछि तत्कालीन आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकालम उनलाई गोर्खा सरुवा गरिएको थियो । गोर्खाबाट तत्कालीन गण्डकीका डीआइजी दिवेश लोहनीलाई भनसुन गरी गैंडाकोट सरुवा भएका थिए । शैलेश थापा अवकाश भएपछि सरुवा मिलाएर चितवनमा आई एसपीका विश्वासपात्र घुमुवाका रुपमा परिचालित छन् ।
रौतहट, बारा, सर्लाहीलगायतका मधेका सबै तस्करीको संजाल थाहा भएकाले मनग्य लाभ लिन एसपीले साहलाई राखेका छन् ।एसपी अधिकारीले मातहतका प्रहरीलाई सेटमै सुन्न नसकिने अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेका छन् । मातहतका प्रहरी एसपीले सेटमा बोल्न थालेपछि परिवारसँग छन् भने सेट लिएर एकान्त स्थानमा जाने अवस्था रहेको स्रोत बताउँछ ।माओवादी नेतृ बिना मगरको सिफारिसमा चितवन जस्तो आकर्षक जिल्लामा सरुवा भएका उनले चुनावमा भने एमाले र रवि लामिछानेलाई मात्र सहयोग पुग्ने काम गरेको सूचना कांग्रेस र माओवादीका नेताहरुले नै गृहमन्त्री बालकृष्ण खाँणलाई नै दिएका थिए ।