भन्सारबाट खुलेयाम तस्करी, माेटाे रकम बुझाउनेलाई तस्करीको लाइन

20.6k Shares

 बिरगंज । नेपालकाे प्रमुख व्यापारिक नाका बिरगंज भन्सारबाट उठ्नुपर्ने लक्ष्य अनुसारको राजश्व नउठेको समाचार भन्सार बिभागलले सार्वजनिक गरेको छ । आयातमा गरिएको कडाइ र केही सामानमा सरकारले गरेको आयात प्रतिबन्धका कारण लक्ष्य अनुसारको राजश्व संकलन नभएको एकातर्फ हो भने अर्कोतर्फ सुरक्षाकर्मीकाे प्रत्यक्ष संलग्नतामा र संरक्षणमा हुदै आएको तस्करी पनि मुख्य रूपमा रहेको छ । अहिले बिरगंजकाे मुख्य भन्सार नाकाबाट सुरक्षाकर्मीकाे संरक्षणमा केही व्यक्तिहरूलाई तस्करीको लाइन पनि दिइएको छ । यसरी तस्करीको लाइन पाउनेहरूमा धेरै संख्यामा कपडाको काम गर्नेहरू रहेका छन् । कपडाको तस्करी गर्ने साइकल समुह रहेको छ ।यो समुहमा १५ जना रहेका छन् । प्रत्येक साइकलले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक २० हजारको दरले रकम बुझाउंदै आएको साइकल बाहक खुशीलाल यादव बताउँछन् । त्यसैगरी सन्चु चमार कपडाले मासिक ५० हजार दिने गरेको पनि उजागर भएको छ । उनलेे टेम्पो प्रयोग गरेर कपडाको ठूलो तस्करी गर्दै आइरहेका छन् । यसबाहेक कपडाको तस्करी गर्ने ककवाले ४० हजार , सन्ज साहले २५ हजार , मिराले २५ हजार , सेखावतले ३० हजार , माेहमद मुन्नाले ३० हजार र हार्डवेयरकाे काम गर्ने मुन्नाले ४० हजार दिने गरेको समेत खुलेको छ । यिनीहरूले दुबै प्रहरीको स्थानीय युनिटलाई यति रकमको दरले पैसा दिएर खुलेयाम तस्करीको लाइन चलाई रहेका छन् ।

नेपालमा भारतीय माछा खुलेयाम भित्रिरहेकाे छ । बिरगंजकाे मुख्य नाका इनरूवा भन्सारबाट नै भारतीय माछा खुलेयाम भित्रिरहेकाे छ । भारतीय माछाकाे तस्करीमा सशस्त्र प्रहरी बलकाे भन्सार बिआेपी र बाहिनीबाट खटिएका घुमुवाहरूले साथ र संरक्षण गरिरहेकाे स्थानीय माछा व्यवसायीहरू नै बताउँछन् । भारतीय बजारबाट मरेका माछाहरू खुलेयाम भित्रिरहेकाे समाचारहरू व्यापक आइरहेकाे बेला र केही जिल्लामा त्यस्ता मरेका माछाहरू बरामद गरि नष्ट गर्ने अभियान चलिरहेका बेला बिरगंज भन्सार नाकाबाट भने खुलेयाम मरेका माछाहरू व्यापक रूपमा भित्रिरहेकाे स्थानीय खुसी लाल यादव बताउँछन् । उनका अनुसार भारतको आन्द्र प्रदेशबाट यसरी मरेका माछाहरू नगल्ने केमिकल प्रयोग गरेर नेपाल भित्रने गरेको छ । पन्थ र बैठा थरका घुमुवाहरूले माछाकाे काम गर्ने निरू भन्नेलाई तस्करीको लाइन दिएको समेत स्थानीय मुन्नाले जानकारी दिए । अजय नामको व्यक्तिकाे लगानीमा निरूले तस्करीको काम गर्ने गरेको र सशस्त्र प्रहरी बलको बाहिनी सम्मकाे सेटिङ मिलाउने काम बिरगंजका चर्चित तस्करका रूपमा चिनिएका मदन गुप्ताले मिलाइएको कुरा सशस्त्र प्रहरी बल भन्सार बिअाेपीका एक जुनियर प्रहरीले जानकारी दिए । 

यसरी नेपाल भित्राएकाे मरेका माछाहरू बाइपास स्थित गाेदाममा लगेर राखी त्यसपछि अन्यत्र पठाउने गरिएको छ । माछाकाे तस्करीको लागि निरूले दुई सय वटा साइकलवालालाई प्रयोग गरेका छन् । प्रत्येक साइकलवालालाई एक पटकको दुई सय रूपैयाँ दरले रकम दिएर माछा तस्करी हुदै आएको छ । एउटा साइकलले एक पटकमा झण्डै ५० किलो माछा ल्याउने गरिरहेका छन् । यसरी सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा मुख्य भन्सार नाकाबाट खुलेयाम तस्करी भैरहेको छ । यस सम्बन्धमा नेपाल प्रहरीका एसपी रमेश बस्नेत र सशस्त्रका एसपी तेज पाेखरेलसंग जिज्ञासा राख्दा उनीहरूले आफुहरूले छानबिन गरि दाेषी देखिए कारबाही गरिने बताए ।

सम्बन्धित समाचार