ललितपुर, १४ मंसिर । ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ । आज बिहान बुधबार गोदावरी नगरपालिका–५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको बुझिएको छ ।
स्थानीयका अनुसार मध्यराति १:२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिसिटिभी फुटेजमा पनि देखिएको छ । बिहान करिब ६ बजेतिर मन्दिरका पुजारी पूजा गर्न जाँदा ढोकाको ताला फोडिएको अवस्थामा फेला परेपछि प्रहरीलाई बोलाइएको वडाध्यक्ष मिलन सिलवालले जानकारी दिए ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर ललितपुरबाट डिएसपी दीपक भारतीको नेतृत्वमा टोली खटिएको छ । प्रहरी वृत्त चापागाउँ र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट पनि टोली खटिएको प्रहरीले बताएको छ । उक्त मन्दिरमा यसअघि पनि चोरी भइसकेको स्थानीयले जनाएका छन् ।
अहिले चोरी भएका देवताका आकृतिहरू नयाँ स्थापना गरिएको हुँदा धेरै पुरानो नभएको स्थानीयले जनाएका छन् । ‘सिसिटिभीमा दुई जना चोर पसेको देखिन्छ । चोरी भएका आकृतिहरू २००–३०० ग्रामका र चार–पाँच इन्च लम्बाइ र चौडाइ भएका छन् । उक्त आकृति तामाबाट बनेका हुन् ।