काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं चितवन २ का उम्मेदवार उमेश श्रेष्ठ आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
‘म भोजपुर जान सक्थें, ललितपुरमै बस्न सक्थें, तर चुनौती भएरै चितवन आएको हुँ । म जहिल्यै उज्यालो हेरेको मान्छे हुँ । चितवन मेरा लागि नयाँ होइन । ३२ वर्षदेखि चितवनमा घर बनाएर बसेको छु । दुईपटक समानुपातिक सांसद हुँदा क्षेत्र नं ३ मा १० वर्ष काम गरें । गठबन्धनका नेता प्रचण्ड उठ्ने भएपछि १ र २ रोजेको हुँ । म अत्यन्त उत्साहका साथ लागेको छु ।
आफू व्यक्तिभन्दा पनि पार्टीको प्रतिनिधि भएकाले सबैको साथ पाएको पनि उनले बताए । श्रेष्ठले भने, ‘म २८ वटै वडामा पुगेको छु । कोर सिटीका १० वडा र केही ग्रामीण क्षेत्र पनि छन् । मैले कृषि, बैंक, जडीबुटी, जलविद्युत्, शिक्षा आदि धेरै क्षेत्रमा काम गरें । यो ठाउँमा म केही गर्न सक्छु भन्ने मेरो संकल्प छ । जनता उत्साही छन् । उमेश श्रेष्ठ केही नलिने काम मात्र गर्ने व्यक्ति रहेछ भनेर सहयोग पाएको छु ।’ उनले यसपटक कांग्रेसमा अन्तर्घात नहुने र भरतपुरकी मेयर रेणु दाहालको पनि साथ पाएको बताए ।
उनले चितवनलाई आर्थिक हब बनाएर राेजगारी सिर्जना गर्ने एजेन्डा अघि सारेका छन् । श्रेष्ठले भने, ‘चितवनका लागि नारायणी नदी वरदान हो । यसलाई बैंककको पटाया जस्तै विकास गर्न सकिन्छ । पर्यटनको सम्भावना छ । शक्तिखोरको १७०० बिघा जग्गामा औद्यागिक ग्राम स्थापना गर्नेबित्तिकै यहाँ रोजगारीको विकास गर्न सकिन्छ । यो केन्द्र भागमा रहेकाले सामान मेची महाकाली जहाँ पनि लान सकिन्छ ।’
१० वर्षभित्रै चितवनको कायापलट गर्न सकिने समेत उनले औंल्याए