काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचारसंहीता उल्लंघनको उजुरी परेको छ ।
गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।
जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका हुन् ।
सञ्चारमन्त्री कार्कीलाई प्रहरी-प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायत आरोप लगाइएको छ ।
पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालयमातहतका कर्मचारीलाई पनि चुनावी प्रचारप्रसारमा लगाएकोले उजुरी दिनुपरेको बताए ।
‘उहाँले ठाडो आचारसंहिता उल्लंघन गर्नुभएको छ । सरकारको प्रवक्ताले आचारसंहीताको ठाडो उल्लंघन गर्ने अवस्था जुन सिर्जना भएको छ, यो एकदमै लज्जास्पद छ । उहाँले आचारसंहीता पालना नगर्ने हो भने अरुले के गर्ने? अरु नागरिकले पालना गर्ने कि नगर्ने आचारसंहिता ?', उनले भने, 'उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ । प्रहरी प्रशासन सबै मुकदर्शक छन्। सार्वजनिक बाटो रोकेर मञ्च बनाइएको छ। सभा गरिएको छ। ३०/४० वटा लावालस्कर गाडी सरकारी गाडीसहित आचारसंहिताको धज्जी उडाउने काम भएको छ। जनप्रतिनिधि भोट मागेर हिँडिरहेका छन् । कर्मचारी पनि कांग्रेसलाई भोट मागिरहेका छन् ।’
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिता उल्लंघन गरेको उजुरी आफुले प्राप्त गरेको बताए ।
‘उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ। स्थानीय निकायका प्रमुखहरु र उम्मेदवारले आचारसंहीता उल्लंघन गरेको उजुरी छ। अध्ययन गरेर के गर्नुपर्ने ? कुन ढंगले जाने भन्ने गर्छौँ,' उनले भने ।
उनले उजुरीको विस्तृत अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिएका छन् ।