ह्याट्रिकको तयारीमा पम्फा भुसाल

19.5k Shares

ललितपुर । । नेकपा माओवादी केन्द्रकी उपमहासचिव एवम् संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर–३ मा सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उभिएकी छिन् । २०६४ र २०७४ सालमा निर्वाचित भएकी भुसाल तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्व गर्ने उद्देश्यका साथ अगाडि बढेकी छिन् ।

भुसाललाई कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले साथ दिएका छन् । ललितपुर–३ मा माओवादी केन्द्र कमजोर भए पनि गठबन्धनको साथ पाएका कारण भुषाल बलियो दाबेदारी मानिएको छ ।  गठबन्धनमा सहभागी दलले इमानदारीपूर्वक साथ दिएमा भुसालको अवस्था सहज देखिन्छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी तोसीमा कार्की युवा माझ लोकप्रिय रहेका कारण भुसाललाई चुनौती दिन सक्ने कतिपयको आँकलन छ । भुसालको अर्का प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका अमृत खड्का चुनावी मैदानमा छन् । 

नेकपा एमालेका खड्का पहिलो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । पहिलो प्रतिस्पर्धामै उनले भुसालका रुपमा ‘हेभी वेट’ प्रतिस्पर्धी पाएका हुन् । अन्तरिम विधायिकालाई समेत जोड्ने हो भने भुसालले तीन पटक सांसद र चौथो पटक मन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

गठबन्धनबाट प्रदेशसभा ‘क’बाट माओवादी नेता राजकाजी महर्जन उम्मेदवार छन् भने प्रदेशसभा ‘ख’बाट कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठ छन् । एमालेबाट प्रदेशसभा ‘क’मा रघुनाथ महर्जन र प्रदेशसभा ‘ख’मा प्रेमभक्त महर्जन उम्मेदवार छन् ।

आसन्न निर्वाचनका लागि ललितपुर–३ बाट कांग्रेस नेता मदनबहादुर अमात्यले पनि उम्मेदवारीको आकांक्षा राखेका थिए । अघिल्लो निर्वाचनमा विजयी भएका कारण ललितपुर–३ गठबन्धनबाट माओेवादीकै भागमा परेपछि आमात्य पछाडि हटेका हुन् ।

२०७४ सालको चुनावमा एमाले–माओवादी गठबन्धन हुँदासमेत एमालेका नेता रघुजी पन्त र सुशीला नेपाल लगायतका नेताले यो क्षेत्रबाट चुनाव लड्न खोजेका थिए । भुसालले छोड्न नमानेपछि एमाले नेताहरु पछि हट्न बाध्य भएका थिए ।

भुसालको जन्मथलो अर्घाखाँची भए पनि राजनीतिक कर्मथलो ललितपुरलाई बनाएकी छन् । विद्यार्थी राजनीतिदेखि नै उनले ललितपुरलाई मुख्य आधार क्षेत्र बनाइन् । विद्यार्थी राजनीतिबाट बिदा भएपछि उनले अर्घखाँचीलाई छोडेर ललितपुरलाई कर्मथलो बनाइन् ।

यो क्षेत्रबाट २०४८ सालमा माओवादी नेता लीलामणि पोखरेलले चुनाव जितेका थिए । त्यसयता २०५१ र २०५६ सालमा एमाले नेता रघुजी पन्तले लगातार आधार क्षेत्र बनाए । पहिलो संविधानसभा (२०६४ साल)मा भुसालले यसै क्षेत्रबाट जित हासिल गरेकी थिइन् ।

दोस्रो संविधानसभा (२०७० साल)मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा सामेल भई भुसालले चुनाव बहिष्कार गरिन् । त्यसपछि यस क्षेत्रबाट कांग्रेस नेता मदन बहादुर अमात्यले चुनाव जितेका थिए । भुसाल मूल पार्टी माओवादी केन्द्रमै फर्किएपछि २०७४ सालको चुनावमा अमात्यलाई पराजित गरेकी थिइन् । भुसालले २४ हजार ३६ मत ल्याउँदा अमात्यले २२ हजार ३२८ मत ल्याएका थिए ।

माओवादी केन्द्रकी उम्मेदवार भुसाल गठबन्धनको साथ पाएर आत्मविश्वासका साथ प्रचारमा जुटेकी छन् । ललितपुरको विकास र समृद्धिका लागि ‘अबको भिजन गुणस्तरीय जीवन’ भन्ने मूल नाराका साथ भुसाल मतदाता समक्ष पुगेकी छन् । ‘अबको भिजन गुणस्तरीय जीवन भन्ने मुल नाराका साथ जनताको बीचमा गएकी छु, मैले सुरु गरेका पूर्वाधारका कतिपय काम पूरा भए । कतिपय पूरा हुने चरणमा छन्,’ भुसालले भनिन्, ‘कला, संस्कृति र पर्यटनले भरिपूर्ण क्षेत्रलाई व्यवसायसँग जोडेर रोजगारी सिर्जना गर्नेछौं । ललितपुरको हस्तकला, मुर्तिकला र चित्रकलाको संरक्षण गर्नेछौं ।’

यस क्षेत्रको मौलिक विशेषतासहित आधुनिकतासँग जोडेर व्यवस्थित सहर बनाउने योजना रहेको भुसालले बताइन् । २०७४ सालको चुनावमा राजनीतिक स्थिरता कायम गर्न वाम गठबन्धन बनाए पनि असफल भएको भुसालले स्वीकार गरिन् । ‘हामीले राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन ग¥यौं । चुनाव जितेर सरकारमा पुगियो तर राजनीतिक स्थिरता कायम हुन सकेन । पटक पटक संविधान उल्लंघन गर्ने, संसद विघटन गर्ने काम भयो,’ भुसालले भनिन्, ‘अब संविधान र लोकतन्त्रको रक्षा गर्दै आर्थिक, सामाजिक सम्बृद्धि हासिल गर्नेछौँ । त्यसपछि जनताले गुणस्तरीय जीवन निर्वाह गर्न पाउने छन् ।’

भुसालले आफ्नो प्रतिस्पर्धीको रुपमा एमालेका उम्मेदवार खड्कालाई लिएकी छन् । स–साना दलका उम्मेदवार चुनावमा उत्रिए पनि खासै चुनौती दिन नसक्ने भुसालले ठोकुवा गरिन् । संघीय संसदमा साना दल वा स्वतन्त्र उम्मेदवारले जितेर खासै काम गर्न नसक्ने उनको भनाइ छ ।

त्यस्तै, एमाले उम्मेदवार अमृत खड्काले जनतामा ‘भ्रष्टाचार गर्दिनँ’ भन्दै मत मागिरहेका छन् । ‘मैले चुनाव जितेर गएपछि भ्रष्टाचार नगर्ने प्रतिवद्धता गरेको छु । मैले विगतमा जुन खालका कामहरु गरेँ, त्यो नै मेरो जितको आधार हो,’ खड्काले भने, ‘मैले सानोदेखि ठुलासम्मका समस्या समाधान गरेर देखाएको छु । म कुराभन्दा नतिजालाई विश्वास गर्छु ।’

संसद विघटन गरेर फ्रेस म्यान्डेटमा जाने विषयलाई अतिरञ्जित प्रचार गरिएको खड्काले दाबी गरे । ‘संविधान बमोजिम संसद विघटन गर्दैमा, फ्रेस म्यान्डेटमा जाँदैमा संविधान मासिन्छ भन्नु अतिरञ्जित कुरा हो । यो विषयलाई विपक्षबाट अतिरञ्जित गरियो,’ खड्काले भने, ‘जनता सोझा छन्, जे भने पनि पत्याउँछन् भन्ने मानसिकता छ तर जनता धेरै जागरुक भइसके । बरु गठबन्धन सरकारले संंविधानलाई जोकर बनायो ।’

गठबन्धन सरकारले उल्टै दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर देशमा अस्थिरता मच्चाएको खड्काले जिकिर गरेका छन् ।

यता, ललितपुर–३ मा नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्कीले उम्मेदवारी दिएकी छन् । उनी यस क्षेत्रका युवामा निकै लोकप्रिय छिन् । नेपाल मेडिकल काउन्सिलको सदस्य भई लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी केही दिन अघि खारेज ग¥यो ।

आयोगको सो निर्णयको विरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन् । अन्त्यमा  सर्वोच्च अदालतले उनको उम्मेदवारी कायम गर्ने स्ट्रअर्डर दियो । फेरि निर्वाचन आयोग कार्कीको उम्मेदवारी खारेज गर्न भन्दै भ्याकेट लिएर अदालत पुगेको छ । कार्कीको उम्मेदवारी निर्वाचन आयोग र सर्वोच्च अदालतमा रुमल्लिएकाले खासै चुनाव प्रचार गर्न पाएकी छैनन् । उम्मेदवारी खारेजीको मुद्दाले भने उनको लोकप्रियतालाई बढाएको कतिपयको बुझाइ छ । तर, भुसाल र खड्का दुवैले आफ्नो प्रतिस्पर्धीको रुपमा कार्कीलाई लिएका छैनन् ।

यस क्षेत्र अन्तर्गत दुई स्थानीय तह छन् । जसमा गोदावरी नगरपालिका अन्तर्गत १२ र १४ वडा र ललितपुर महानगर अन्तर्गत  १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ वडा पर्छन् । ती वडा अन्तर्गतको वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मत केलाउँदा गठबन्धनका उम्मेदवार भुसाल अघि देखिएकी छन् ।

यस आधारमा गठबन्धनका पक्षमा ३१ हजार ४०१ मत देखिन्छ भने एमालेको पक्षमा १७ हजार ७०९ मत छ । भुसाल झण्डै १५ हजार मत अन्तरले अघि देखिन्छिन् ।

सम्बन्धित समाचार