काठमाडौं, ४ कात्तिक । खोजतलास साप्ताहिक र खोजतलास अनलाइन डटकममा ‘दरबारमार्गमा भारी छुटको नाममा नेपाली ठग्दै मनोज सरावगी’ शिर्षकमा कात्तिक ३ गते बिहीबार समाचार प्रकाशित भएपछि सरावगीले ५० प्रतिशत छुट भन्दै पसलमा टाँसेको स्टिकर झिकेका छन् ।
खोजतलास साप्ताहिकले नेपालीहरुको महान चाड दशैं, तिहार, छठ र नेपाल सम्बतलाई लक्षित गरी काठमाडौं उपत्यकामा भइरहेको कालोबजारी र दिन दाहाडै ग्राहक ठग्ने नियतले भारी छुटको नाममा ठगी गरिएको पाइएपछि खोजतलासको स्ट्रिङ अप्रेशनमा परेका छन् मनोज सरावगी ।
काठमाडौंको मुटु मानिने न्यूरोड, दरबारमार्ग, बानेश्वर र ललितपुरको जावलाखेलमा सिटीवाकको ब्राण्डका जुत्ता र सोच ब्राण्डका कुर्तासुरुवालहरुको सरावगीले व्यापार गर्दै आइरहेका छन् ।
लोकल कच्चा पदार्थ विभिन्न मुलुकहरुबाट झिकाई कुलेश्वरमा उनका सहोदर भाईद्वारा संचालित एक कारखानामा बनेका लोकल जुत्तालाई सिटीवाकको ट्याग लगाई आफ्नो स्वविवेक प्रयोग गरी पाँच सय पनि लगानी नपर्ने जुत्तालाई १० हजारभन्दा बढीमा छुटको नाममा विक्रीवितरण गर्दै आइरहेको खोजतलास साप्ताहिकले सरावगीको कालाकर्तुतबाट समाचार प्रकाशित गरेको थियो ।
काठमाडौं उपत्यकाका हुनेखानेहरुले मात्र किनमेल गर्ने बजारको रुपमा रहेको दरबारमार्गमा सरावगीले झण्डै ६ महिना अगाडिबाट चाडपर्वलाई लक्षित गरी छुटको नाममा ब्रम्हलुट मच्चाउँदै आइरहेका थिए । लोकल कच्चा पदार्थबाट बनेको जुत्तामा कसरी लगाइयो सिटीवाकको ट्याग र कसले अधिकार दियो मनलाग्दी मूल्य राख्ने अधिकार ? जबकी करिब पाँच सय पनि लगानी नपर्ने जुत्तालाई १० हजारभन्दा बढी मूल्य राखी विक्री वितरण गर्ने सरावगीलाई सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउनुको सट्टा किन आँखा चिम्लिरहेको छ ?
यस विषयमा राजश्व विभागका सूचना अधिकारी प्रद्युम्नप्रसाद उपाध्ययलाई सरावगीको ठगी धन्दाबारे बुझ्दा उहाँले भन्नुभयो, ‘तपाईंहरुलाई धन्यवाद, हामीले सबै ठाउँमा हेर्न भ्याउँदैनौं, तपाईंले समाचार प्रकाशित गरेपछि छुटको नाममा गरेको ठगी धन्दा र लोकल सामाग्री प्रयोग गरी सिटीवाकको ट्याग लगाई विक्रीवितरण गरेको विषयलाई आवश्यक अनुसन्धान गरी कारखानामा समेत छापा हान्ने जानकारी गराए ।’
स्मरणीय छ, स्रोतका अनुसार मनोज सरावगीको ग्राहक ठग्ने धन्दाको विषयलाई लिएर झण्डै दुई वर्ष अगाडि विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि राजश्व अनुसन्धान विभाग र बाणिज्य विभागले छापा हानी मनोज सरावगीद्वारा संचालित दरबारमार्गको सिटीवाक पसल सिल गरेको थियो ।
सेटिङका कुटिल खेलाडीको रुपमा चिनिने भारतीय नागरिक सरावगीले साम, दाम, दण्डभेद प्रयोग गरी फेरि आफ्नो गठी धन्दालाई निरन्तरता दिँदै आइरहेको उनैका कर्मचारीले नाम नछाप्ने सर्तमा बताए ।
चाडवाडलाई लक्षित गरी छुटको नाममा नेपाली ग्राहकहरुलाई कमशल सामाग्रीमा भारी छुट भन्दै नेपाली ग्राहकलाई ठग्न सफल बन्दै आइरहेका छन् भारतीय नागरिक मनोज सरावगी ।
भारतबाट चप्पल पट्काउँदै नेपाल छिरी सामान्य जुत्ता पसलबाट व्यापार व्यवसाय सुरु गरेका मनोज कुमार सरावगी (अग्रवाल)ले भन्सारमा सेटिङ्ग मिलाई राजश्व छल्दै कमशल माल भित्र्याउँदै महँगोमा नेपाली ग्राहकलाई बिक्री गर्दै गरेको खुलेको छ ।
सामान्य जुत्ता पसलबाट आफ्नो व्यापार व्यवसाय सुरु गरेका सरावगीले भन्सार, राजश्व अनुसन्धान, सुरक्षाकर्मीलगायतसँग सेटिङ मिलाई भन्सार छली गरी करोडौंको सामान नेपाल भित्र्याई दिन दुई गुणा, रात चौगुणाको हिसावले छोटै समयमा जुत्ताको ठूलै साम्राज्य खडा गर्न सफल बनेका छन् सरावगी । अहिले उनी नेपालले कानुनले बन्देज लगाएको हुण्डीको ठूलै कारोबारी रहेको उनी निकट स्रोतले जानकारी गराएको छ ।
सरावगीले छोटै समयमा काठमाडौंको मुटु मानिने न्यूरोड एरियामा आफ्नो व्यापारको विस्तार गर्दै आएका छन् । उनले अहिले सुन्धारास्थित काठमाडौं मल, कमलपोखरीको सिटी सेन्टर, खिचापोखरीको पिपुल्स प्लाजा, त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर, जावलाखेल हुँदै दरबारमार्गको भव्य भवनमा जुत्ता पसल राखेका छन् ।
विदेशबाट कवाडीको भाउमा कच्चा सामाग्री ल्याई कुलेश्वरस्थित सराबगीका सहोदर भाईद्वारा संचालित जुत्ता कारखानामा जुत्ता उत्पादन गरी विक्री वितरणमा राखेको जुत्तालाई विदेशी जुत्ता भन्दै नेपालीलाई ठग्न सफल बन्दै आइरहेका छन् सरावगी ।
विशेषगरी सरावगीले मित्रराष्ट्र चिनबाट गुणस्तरहिन सामान ल्याई चाडवाडलाई मध्य नजर गरी नेपालीलाई ठग्ने उद्देश्यले आफ्नो ब्राण्ड बनाई ५० प्रतिशत छुटको नाममा दिनदहाडै ठग्दै आइरहेको समाचार विभिन्न संचारमाध्यममा सार्वजनिक भइरहँदा पनि सम्बन्धित निकाय मौन हुनुलाई सरावगीले माथिल्लो निकायसम्म सेटिङ मिलाई नेपालीलाई ठग्दै र लुट्न सफल बन्दै आएको सरावगीकै एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए ।
ती कर्मचारीका अनुसार लोकल कमशल जुत्तालाई सिटीवाक ब्राण्डको ट्याग राख्दै बिगत तिन वर्ष अगाडिदेखि जुत्ता चप्पल विक्री वितरण गर्दै आइरहेको बताए । एक जोर जुत्ताको पाँच सय पनि लगानी नपर्ने जुत्तालाई सिटीवाक ब्राण्डको ट्याग झ्ण्ड्याई १० हजार भन्दा माथि आफूखुसी मूल्य राखी बिक्री ५० प्रतिशत छुटको नाममा दिनदहाडै नेपालीलाई लुट्न तल्लिन रहेका सरावगीले लुटको अर्को धन्दा पनि सोच नामक कम्पनी खडा गरी महँगो मूल्यमा कमशल कपडा विक्री वितरण गर्दै आइरहेको पनि पाइएको छ ।
हाम्रो संवाददाता सरावगीको दरबारमार्गस्थित जुत्ता पसलमा जुत्ता किन्न जाँदा उनले भनेका थिए ‘यो जुत्ता तपाईंहरुलाई काम छैन, म तपाईंहरुलाई नकिन्न आग्रह गर्छु, पछि आउनुहोला भन्नुको अर्थ के ? यसबाट सहजै अनुमान लगाउन सकिन्छ, प्रत्येक गुणस्तरहीन कच्चा पदार्थबाट बनेका जुत्ता त्यहाँ विक्री वितरण भइरहेको छ भन्ने पुष्टि सराबगीले नै गरेका छन् । यतिमात्र नभई हाम्रा संवाददाताले तपाईंले लोकल जुत्तालाई सिटीवाक ब्राण्डको ट्या झुण्ड्याई किन बिक्रि वितरण गर्दैै हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने ‘सुद्ध गाईको दुधले नुहाएको व्यापारी कोही पनि हुँदैन भन्दै ठगी कार्यलाई बढुवा दिने खालका व्यंग्यात्मक ढंगले प्रस्तुत भएका थिए ।’ यतिमात्र होइन, सरावगीले कमशल कच्चा पदार्थहरु नेपाल भित्र्याउनका लागि समस्या पर्न थालेपछि भन्सारसँग सेटिङ मिलाई दिन हाम्रा संवाददातालाई पनि आग्रह गरेका थिए ।
सरावगीले पछिल्लो समय कुर्तासुरुवालको व्यापार थप गरी दरबारमार्गमा ५० प्रतिशतको छुट भन्दै भन्सार छली गरेर ल्याएको गुणस्तरहित कुर्तासुरुवाल विक्री वितरण गर्दै उपभोक्तालाई ठगी गर्ने कार्य पनि थालनी गरिसकेका छन् । उनको दरबारमार्गस्थित जुत्ता पसलको ठ्याक्कै पारीपट्टी गुणस्तरहीन कुर्तासुरुवालको सोच नामक पसल राखी नेपाली महिला ग्राहकहरुलाई ठग्दै आइरहेका छन् ।
यत्तिमात्र नभई नेपालीलाई कसरी ठग्न सकिन्छ भन्दै पछिल्लो समय भारतमा अयोग्य सावित गरेको मार्वल र टायल भन्सारमा सेटिङ मिलाई भन्सार छली गरी नेपाल भित्र्याईको त्यस्ता सामाग्रीको व्यापार व्यवसायसमेत गर्दै आइरहेको स्रोतले दाबी गरेको छ ।
नेपालीलाई ठगी गरी कमाएको कालो धन लगानी गर्दै भारतमा काम नलाग्ने भनी कवाडी भइसकेको मार्वल र टायल व्यापार गर्दै अहिले खुल्लम खुल्लारुपमा नेपालीलाई ठग्दै आएका छन् सरावगीले । अझ रोचक कुरा के छ भने राज्यको शान्ति सुरक्षाको जिम्मेवार बोकेकाहरुलाई खल्तीमा राखेको छु भन्दै सरावगीले खुल्लम खुल्लारुपमा हुण्डीको व्यापार व्यवसाय गरिरहेका छन् । उनको हुण्डीको कारोबार अहिले पनि निर्धक्कसँग प्रहरीका माथिल्ला निकायका अधिकारीहरुलाई सेटिङ्ग मिलाई गर्दै आइरहेको उनकै कर्मचारीले नाम नछाप्ने सर्तमा बताएका छन् । पछिल्लो समय नेपालमा आर्थिक मन्दी छाइरहेको अवस्थामा नेपालको कानुनलाई धोती लगाउँदै अर्बौं रुपैयाँ हुण्डीमार्फत भारत लगी भारतमा ठुलो फ्याक्ट्री संचालन गरेको स्रोतले दाबी गरेको छ ।
सरावगीले काठमाडौंमा करोडौंको कारोबार गर्ने व्यापारिक सामान चिन तथा अन्य मुलुकबाट अण्डर विलिङ्ग (कम मूल्य) मा सामान ल्याई सोही अनुपातको रकमसमेत हुण्डीमार्फत् पठाई नेपालको राजस्व समेत छल्ने गरेको उनी निकट व्यापारीहरुले बताउने गरेका छन् ।
सरावगीको नेपालीलाई ठग्ने र नेपालको राजश्व छलीमा महत्वपूर्ण भूमिका खेली नेपालमै व्यापार व्यवसाय गर्दै आइरहेका सरावगीको विषयमा समाचार प्रकाशित गर्दा पत्रकारलाई नै प्रहरी लगाई दुःख दिने काम समेत सरावगीले गर्दै आइरहेको पाइएको छ । सरावगीको कालो बजारीको विषयलाई लिएर समाचार लेखेकै भरमा प्रहरीसँग सेटिङ मिलाई पत्रकारलाई दुःख दिने काम गरेको केही महिना अगाडिको एउटा घटनाले पुष्टि गरेको छ ।
सरावगीले समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई प्रहरी लगाई षड्यन्त्रपूर्वक फसाउन खोजेको र हुण्डीलगायत कालोबजारीको विषयमा खोजतलासले सरावगीसँग ९८५१०२४०४१ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।