काठमाडौं । नेपालीलाई क्यासिनो खेल्न प्रतिबन्ध भए पनि पछिल्लो समय दावा शेर्पा ‘सेठेठी डन’ सेटिङकै भरमा क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउँदै आएको समाचार छ ।
क्यासिनोमा नेपालीलाई प्रवेश गराई खेलाउने काम बिचौलियाहरुले गर्दै आइरहेको पाइएको हो । यसरी नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाई घर न घाटको बनाउने र सोही कारणले मृत्युको मुखमा समेत पु¥याउने गरेको घटनाहरु धेरै नै छन् । यसरी हुनेखाने नेपालीलाई पछिल्लो समय क्यासिनो प्रवेश गराई जुवाको लतमा पारी घर न घाटको बनाउने पात्रको रुपमा दावा शेर्पा ‘सेठेठी डन’ उदाएका छन् ।
बौद्ध क्षेत्रलाई आधार इलाका बनाई गुण्डागर्दी र हप्ता असुली गर्दै आइरहेका शेर्पा हाल क्यासिनो खेलाडीका रुपमा उदाएका छन् । शेर्पा प्रहरीका उच्च अधिकारीहरुसँग सेटिङ मिलाउँदै आफू पनि जुवा खेल्ने र धनाढ्यका छोराछोरीहरुलाई जुवा खेलाउन उक्साई क्यासिनोमा लाने गरेको स्रोतले दावी गरेको छ ।
दावा होटल म्यारिटको डेल्टिन क्यासिनोमा जुवा खेल्दाखेल्दै दरबारमार्ग प्रहरीले गत असार २४ गते पक्राउ गरेको थियो । तर, तत्कालिन दरबारमार्ग प्रहरी वृत्तका डीएसपी विश्वराज खड्काले प्रहरी कार्यालयमा ल्याई तुरुन्तै छाडिदिएका थिए ।
दावाको क्यासिनो धन्दा चलाउन प्रहरीका उच्च अधिकारीहरुले पनि मिटर ब्याजमा लगानी गर्ने गरेकोले आफूलाई प्रहरीकै संरक्षण रहेको बताउँदै हिँड्ने गरेका छन् । दावाले विशेष गरी खेल्ने र टेबुल बुक गरी खेलाउने क्यासिनोहरुमा होटल सोल्टीको माजोङ क्यासिनो, होटलको प्राइट क्यासिनो, छायाँसेन्टरको डेल्टिङ क्यासिनोलगायतका उपत्यकाका चलेका क्यासिनोहरुमा दिन दुई गुणा र रात चौगुणाको दरले नेपाली जुवाडेहरुलाई जम्मा पारी क्यासिनो छिराई करोडौं रुपैयाँको जुवा खेलाउने काम गर्दै आइरहेका छन् । नेपालीलाई क्यासिनो प्रवेश गराई खेलाउने काममा दावालाई छायाँ सेन्टरमा रहेको वाइल्डो डायनेस्टी इन्टरटेन्टमेन्ट प्रालिका शेयर होल्डर छिरिङ नाम बताउने व्यक्तिले साथ दिँदै आएको सो क्यासिनो स्रोतले बताएको छ ।
केही समय अगाडि छायाँसेन्टरमा रहेको उक्त क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गर्दा दावाले वितण्डा मच्चाउँदा छायाँ सेन्टरका सुरक्षाकर्मीलाई दावाले गरेको वितण्डा रोक्न हम्मेहम्मे परेको छायाँ सेन्टर स्रोतले बताएको छ । त्यस्तै, दावाले जुवा खेलाउँदा कसैसँग मनमुटाव भएमा उनले आफ्नो डायरीमा ‘लिस्टिङ’ गरी राखी भाडाका गुण्डाहरु प्रयोग गरी भौतिक आक्रमणसमेत गर्ने गरेको स्रोतले दावी गरेको छ ।
दावाले विभिन्न क्यासिनोमा जुवा खेल्न जाँदा न्यूनतम ५० लाखभन्दा माथि खेल्ने गरेको र यदि हारेमा दावालाई फेरि करोडौं रुपैयाँ उपलब्ध गराउन दावाका भरौटेहरु आउने गरेको समेत क्यासिनो स्रोतले बतायो ।
दावाले टेबुल बुक गराएर खेलाएको जुवामा यदि कुनै जुवाडेले जितेको खण्डमा त्यस व्यक्तिलाई क्यासिनोको सुन्दरीहरु प्रयोग गरी मायाजालमा फसाई फेरि क्यासिनोमै आई उसले जितेको पैसा फेरि खेलाएर फिर्ता गराउने प्रपञ्च गर्दै आइरहेका छन् ।
नेपालीलाई प्रवेश निषेध गरिएको अवस्थामा क्यासीनो सञ्चालकहरुले यतिबेला प्रायः क्यासीनोमा दलाल नियुक्त गरेर टेवुल भाडामा लगाउने कार्य गरिरहेका छन् । त्यसरी टेबुल लिए वापत दलालले क्यासीनोलाई मोटो रकम बुझाउने गर्छन् । दलालहरुको सेटिङमा बौद्धस्थित ह्यात होटलमा रहेको प्राइड क्यासीनोमा लुट कार्य मौलाएको पिडीत पक्षले गुनासो गरेका छन् ।
आफूलाई विभिन्न प्रलोभन दिएर क्यासीनोकै खेलाडीको मिलोमतोमा लाखौं लुटेको गुनासो पीडितले गर्ने गरेका छन् । सिक्कीमको माजुङ क्यासीनोमा यसरी नै टेबुल ठेक्का लिएर क्यासीनो चलाउँदै आएका दावा शेपा जो मिटर व्याजीका रुपमा पनि चिनिन्छन्, उनले एक पीडितलाई फकाएर झण्डै ३५ लाख नगद क्यासीनोमा पोकर खेलमा हराएको ती पीडितले बताए । ‘तास बाँड्ने डिलरका पछाडी दुई जना उभिएका हुन्थे, उनीहरुले तास मिलाउथे र बाँड्दै गर्दा सेटिङमा हामी वास्तविक खेलाडीलाई सानो दाउ पार्ने र सेटिङमै खेल्न बसेकालाई जिताइदिने गर्थे,’ पिडीतको गुनासो थियो । लगातार चार–पाँच दिन खेल्ने क्रममा ३५ लाख हारिसक्दा आफूलाई थप सापटीका नाममा दिएको रकम समेत हराएको र उक्त रकम लिन घरमा भाडाका गुण्डा पठाएर ज्यान मार्ने धम्की दिने गरेको गुनासो पिडीतको थियो ।
सेटिङ गरिएका खेलाडीलाई मात्र बारम्बार ठूलो दाऊ परिने गरिएपछि आफूलाई शंका लागेर उक्त कुरा उठाएको समेत पिडीतले बताए । उनले आफू खेलेको दिनको सिसिटीभी फुटेजको दृश्य हेर्दा यथार्थ थाहा हुने समेत बताएका छन् ।
यता, सेठ्ठी भनिने दावा शेर्पा नामका जुवा दलाल चुच्चेपाटीस्थित केएल टावर अगाडी बस्ने गरेको र त्यहीँ उसले क्यासीनोमा खेल्ने खेलाडी जुटाएर लैजाने गरेको स्रोतले दावी गरेको छ ।