प्रहरी मुख्यालयमा कार्यरत चार जनामा कोरोना

18.1k Shares

काठमाडौ : कोरोना भाइरसको संक्रमण समुदायमा देखिन थालेको पुष्टि हुँदै गएको छ । एकैसाथ धेरै मानिसमा कोरोना देखिन थालेकोले कोरोना भाइरस समुदायमा फैलिएको हो ।
सरकारले लकडाउन खुला गरेसँगै मानिसहरूको आवत जावत निर्वाध हुँदा संक्रमण फैलने दर बढ्दो छ ।
यसको पुष्टि प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार तथा सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएपछि पनि भएको छ ।
प्रहरी मुख्यालयले यसबारे आधिकारिक सूचना सार्वजनिक गरेको छैन । मुख्यालय स्रोतका अनुसार थप अन्य केहीमा पनि संक्रमणको आशंका गरिएको छ ।

हवल्दारमा कोरोना पुष्टि भएपछि उनी बस्ने ब्यारेकका १६–१७ जना प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब नमुना लिएर आइसोलेसनमा राखिएको छ ।
यस्तै मुख्यालयभित्रै रहेको सञ्चार निर्देशनालयमा कार्यरत तीन जनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । प्रयोगशालाबाट पीसीआर रिपोर्ट आए पनि ३ जनाको नतिजा प्रहरीले सार्वजनिक गरेको छैन ।उनीहरू तीन जनामध्ये एक प्रहरी मेसमा सहयोगीका रुपमा काम गर्थे भने २ प्रहरी मेसका लागि आवश्यक सामग्री ल्याउने काम गर्थे ।

प्रहरी प्रवक्ता डीआइजी नीरज शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रूपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको छ ।
केही उच्च प्रहरी अधिकारीहरुका चालक प्रहरी जवानलाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ । मुख्यालयभित्र प्रवेश गर्नेमाथि सुरुदेखि नै कडाइ गरिएको र केही दिनयता त्यहाँभित्र कार्यरत केहीलाई त्यहीँ बस्ने व्यवस्था गरिएको बताए ।

सम्बन्धित समाचार