काठमाडौं । कोही सत्तामा रहेर त कोही सत्ता बाहिर रहनुपर्दा फुट्ने अवस्थामा दलहरु पुगेका छन् । सत्तारुढ दलहरुभित्र मन्त्रीको लागि विवाद चर्किएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका मन्त्री फेर्न खोज्दा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र पनि कम्पन आएको छ । चारवटै दलभित्र मन्त्री बन्न अस्वस्थ प्रतिष्पर्धा चलिसकेको छ । सत्ता गठबन्धनकै दलहरु फुट्नसक्ने सूचना पाएर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काललाई नेकपा एसबाट सिफारिश भएकालाई मन्त्री बनाएनन् । उनले केही समय पर्खन भनेर टारेका छन् ।
नेकपा एसबाट मन्त्रीमा ब्याक हुनुपर्ने अवस्थामा केहीले पार्टी नै विभाजनको धम्की समेत दिएका थिए । उनीहरु त्यसका लागि भित्री तयारीमा लागिसकेका थिए । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसभित्र पनि नयाँ मन्त्री बनाउन दबाब बढेको थियो । गगन थापाले सार्वजनिक रुपमै नयाँ अनुहारलाई मन्त्री बनाउन भनेका थिए । माओवादीभित्र पनि वर्षमान पुन, शक्ति बस्नेत मात्र नभई प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले दबाब दिन थालेका थिए । सबैभन्दा चर्को विवाद जनता समाजवादी पार्टीमा देखिइसकेको छ । त्यहाँ मन्त्री फेर्न उपेन्द्र यादवलाई चर्को दबाब परेको छ ।
जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् । अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ । तर, बहालवाला मन्त्रीहरुले पनि आफूहरुलाई फिर्ता बोलाए पार्टीबाट अलग हुने चेतावनी दिइसकेका छन् । कृषिमन्त्री महेन्द्र यादवसँग उपेन्द्र यादवको विवाद यथावत् छ । उनलाई सरकारबाट फिर्ता बोलाउन उपेन्द्रको विगतबाट नै तयारी थियो ।
मन्त्री बन्न अमृता अग्रहरी, प्रदिप यादव, प्रमोद साह, मोहम्मद इश्तियाक राई, राजकिशोर यादव, डा. सुरेन्द्र यादवलगायत दौडधूपमा छन् । उनीहरुले मन्त्रिमण्डल पुर्नगठन हुँदा नयाँ मन्त्री पठाउन दबाब बढाइरहेका छन् । जसपामा रहेकामध्ये महेन्द्र यादव र राजकिशोर यादव विगतमा राष्ट्रिय जनता पार्टीमा थिए । संघीय समाजवादी फोरम र राजपा एक भएपछि जसपा बनेको थियो । जसपा फुट्दा महेन्द्र यादव र राजकिशोर यादव उपेन्द्रको साथमा रहे । महन्थ ठाकुरको साथमा राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत नेताहरु लागे । यसैगरी, लोसपालाई पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा लान खोजेका छन् । तर, लोसपा जसपालाई नै सत्ता छाड्न भनिरहेको छ । यसले दुवै दलभित्र नयाँ घटना विकास भइरहेको छ ।
प्रतिपक्षी नेकपा एमालेभित्र पनि ठूलै भाँडभैलो छ । त्यहाँ घनश्याम भुसालमाथि कारबाहीको डन्डा चलाइँदै थियो । नेकपा एमालेको अनुशासन आयोगले कारबाहीका लागि बढाएको प्रक्रियाको कारण थियो अध्यक्ष केपी शर्मा ओलीमाथि आइपर्ने ठूलो संकट । स्थानीय तहको चुनावमा एमालेले धक्का खाएपनि भुसालले दुईवटा विकल्पसहित प्रस्ताव सार्न लागेका थिए । उनले ओलीले या त आत्मालोचनासहित बाम एकताको आव्हान गर्नुपर्ने या त राजीनामा दिनुपर्ने प्रस्ताव भुसालले तयार गरिसकेका थिए । एमाले बैठकमा भुसालले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको सूचना पाएपछि ओलीले केशव बडाललाई लगाएर अनुशासनको कारबाही अगाडि बढाउन लगाए । भुसाललाई सम्भवत एमालेबाट निष्काशन हुन सक्छ । उनले पनि त्यसको सामना गर्न पूर्वतयारी गरिसकेको बुझिएको छ ।
भुसालको साथमा एमालेका ३० भन्दा बढी केन्द्रीय सदस्य रहेको विश्वस्त स्रोतले बताएको छ । योगेश भट्टराईले पनि साथ दिएमा त्यो संख्या ५० को हाराहारीमा पुग्न सक्छ । योगेशले साथ दिने या नदिने स्पष्ट छैन । तर, भुसाल अगाडि बढिसकेका छन् । कुनैपनि बेला कारबाहीको निर्णय भएमा भुसाल विद्रोह गर्ने तयारीमा छन् । उनले आफ्नो साथमा रहेका केन्द्रीय सदस्यहरुसहित एमाले छाड्ने सम्भावना बलियो भएको छ । यसैगरी, विगतमा माधवकुमार नेपालसँग नजिक रहेका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, रघु पन्तलगायत नेताहरु पनि ओलीको पेलाईमा पर्दै गएका छन् । उनीहरु पनि ओलीलाई बाम एकताका लागि दबाब दिइरहेका छन् । तर, ओली टसमस भएका छैनन् । ओली, प्रचण्ड र माधवकुमार नेपाललाई मिलाउने दबाब सृजनामा बामदेव गौतम भित्र भित्र लागेका छन् । तर, यो सजिलो देखिएको छैन । ओली लचिलो नभए संसदको चुनावसम्म प्रचण्ड र माधवकुमार नेपालसहितको ओलीबाहेकको वाम शक्ति एक बनाउने गरी गौतम लागेका छन् । उनीनिकट रहेकाहरु पनि त्यही रणनीति अनुसार सक्रिय छन् ।