नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आजदेखि सुनुवाई, कस्तो आउला निर्णय ?

20.2k Shares

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाई सुरु गर्ने भएको छ । सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा आफुभन्दा जुनियरलाई नियुक्ति गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीशद्वय विश्‍वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलाशमा रिटको पेसी तोकिएको हो । मंगलबार सुनुवाइ हुने महानिरीक्षकबिरुद्धको यो मुद्दालाई चासोका रुपमा हेरिएको छ । सरकारले स्थानीय तह निर्वाचनका समयमा नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो ।

केही मुद्दाको फैसलालाई लिएर सरकार र सर्वोच्चबीच टसल भइरहेको अनुमान गरिएका बेला यसको सुनुवाई हुन लागेकाले पनि धरैले चासोका रुपमा हेरेका छन् ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले गएको वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाईआजदेखि हुने आदेश दिएको थियो । उक्त इजलाशले सरकारका तर्फबाट अन्तिम सुनुवाईका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाई गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाई हुन लागेको हो ।

सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले नियुक्तिका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई नियुक्त गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार