म अलिकति पनि धर्मराएको छैन : स्थापित

16.1k Shares

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित एमाले उमेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेनलाई) बधाई दिएका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत महानगरवासीले गरेको भरोसाको सम्मान बालेनले गर्ने अपेक्षा पनि राखेका छन् । 

साथै काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधर्मराएको उनको भनाइ छ । “जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र संवृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धरमराएको छैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पटक–पटक लडेर पनि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको पनि बताएका छन् । “म पटक–पटक लडेर पनि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ ।  त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौं म र मेरो पुस्तौंपुस्ता जन्मिएको माटो हो,” उनले लेखेका छन्, “त्यसैले मलाई यहाँको माटो, सम्पदा, संस्कृति, विकास र समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।”  उनले उपमेयरमा निर्वाचित एमालेकी सुनिता डंगोललाई पनि बधाई दिएका छन् ।

सम्बन्धित समाचार