ललितपुर, १० जेठ । ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् ।
ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ । बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ ।
महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन् ।
उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने, तर एमालेसँग साँठगाँठ गरेर जिताए । यो राम्रो भएन ।’
तर, माओवादी केन्द्रको आरोपबारे कांग्रेस नेताहरूले हालसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।