एफए कपको फाइनलमा चेल्सी

19.8k Shares

काठमाडौं । चेल्सीको स्वामित्व बेच्ने प्रक्रिया सम्भवतः अबको चार सातामा पूरा हुनेछ । र, लिभरपुलविरुद्धको एफए कप फुटबलको फाइनलमा चेल्सीको नयाँ मालिक उपस्थित हुनेछन् ।

मे १४ मा हुने फाइनल हेर्न वेम्बली रंगशालाको रोयल बक्समा को बस्नेछन भनेर अझै टुंगो लागिसकेको छैन । रुसका मालिक रोमन अब्राहिमोभिचलाई बेलायत सरकारले निलम्बनमा राखेपछि उनले चेल्सीको स्वामित्व बेच्नुपरेको हो ।

चेल्सीले आइतबार राति इंग्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै एफए कपको फाइनलमा स्थान पक्का गरेको हो । चेल्सीले रुवेन लोफ्टस–चेकको गोलबाट ६५औँ मिनेटमा अग्रता लिएको थियो । लोफ्टस–चेक २६औँ मिनेटमा माटेयो कोभासिचको स्थानमा मैदान छिरेका थिए । ७६औँ मिनेटमा मासन माउन्टले अर्को गोल थपेपछि चेल्सीको जित पक्का भएको हो ।

चेल्सीले अब उपाधिका लागि मे १४ मा लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

चेल्सी गएको बुधबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो । चेल्सी रियाल मड्रिडसँग समग्रमा ५–४ ले पराजित भएको थियो । थोमस टुचेलको प्रशिक्षणमा चेल्सीले छैटौँपटक फाइनल खेल्न लागेको हो । चेल्सीले यसअघि फिफा क्लब विश्वकप, युरोपियन कप, यूईएफए सुपर कप र एफए कपको फाइनल खेलेको थियो । गत वर्ष चेल्सी एफए कपको फाइनलमा लेस्टर सिटीसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार