काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सुराकीको आधारमा मंगलबार बिहान भक्तपुरको सल्लाघारीबाट झण्डै पचास लाख रुपैयाँ बराबरको १२ हजार ९ सय एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
वीरगन्जबाट आएको ना ३ ख ९८९ नम्बरको कन्टेनर चेकिङ गर्ने क्रममा प्रहरीले सो मात्रामा लागू औषध बरामद गरेको हो ।
निषेधाज्ञाको समयमा नेपाल सरकारले खाद्यान्नका गाडी आवत—जावत गर्नको लागि कुनै रोक लगाएको छैन । त्यसकै मौका छोपी लागुऔषध कारोबारीले खाद्यान्न बोक्ने कन्टेनरको प्रयोग गरेको प्रहरीले जनाएको छ ।
‘अहिले लकडाउन तथा निषेधाज्ञाको बेलामा खाद्यान्नका सामाग्रीलाई छुट दिइएको छ,’ ती प्रहरीले भने, ‘त्यही भएर उनीहरूले कन्टेनरमा हर्लिक्स बोके भने अगाडि आफूहरु बस्ने क्याबिनमुनि लागुऔषध लुकाएका रहेछन् ।’
प्रहरीले विशेष सूचनाका आधारमा थानकोट नाकाबाट प्रवेश गर्ने वित्तिकै उनीहरूको पिछा गर्न थालेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सिन्धुपाल्चोकका ३६ वर्षीय चालक विष्णु प्रधान र ३७ वर्षीय डम्बरबहादुर प्रधान सल्लाघारीमा बस्ने गर्थे ।
सल्लाघारीमै पुगेर उनीहरूले कन्टेनर रोकेपछि प्रहरीले खानतलासी गरेको हो । ‘खानतलासी गर्दा क्याबिनको सिटमुनिबाट जेब्रा झोला फेला परेको थियो । प्रहरीले उनीहरुसँग सोधपुछपछि लागुऔषधका मुख्य डिलर ३२ वर्षीय शंकर खड्कालाई बुढानिलकण्ठबाट पक्राउ गरेको छ ।
उनीहरूबाट प्रहरीले डाईजापाम २ हजार ९ सय ५० एम्पुल, तीन हजार एम्पुल नाईट्रोभेट, २ हजार ९ सय ५० एम्पुल प्रोमाथाजिन, १५ सय एम्पुल बुप्रिनोरफाइन र १४ सय एम्पुल नुफिन बरामद गरेको हो ।
उनीहरूबाट बरामद भएको लागुऔषध ४५ लाख बराबरको भएको प्रहरीले जनाएको छ ।