काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गर्दा अध्यक्ष केपी शर्मा ओलीले खुबै प्रशंशा गरे । इतिहासका कुरा गरे र वर्तमानमा सिंहको सदावहार शरीरको बखान झिके । कर्णालीको पानी खाएको देखि यार्सागुम्बा खाएको भन्दै सिंहलाई उमेरभन्दा कम देखिने भने । यस्तो भन्दा सिंह दंग थिए । हलमा भने हाँसो छुटेको थियो । सिंह ६० कटेको तर ५० को देखिने गरेको भने । सिंह निकै स्वस्थ रहेकोसम्म भन्न भ्याए ।
ओलीले सिंहसँगको पुरानो पुरानो सम्बन्धबारे पनि खुलाए । ओलीले सिंहलाई भारतको दरभंगामा २०३० मै भेटेको स्मरण गरे । उनले भने,‘२०३० सालको वेशाखतिर प्रेमबहादुरजीलाई दरभंगामा भेटेको थिएँ । उहाँ त्यहाँ पढ्दै हुनुहुन्थ्यो ।’ ओलीले उक्त वर्ष नै आफूले पुष्पलाल श्रेष्ठ र नारायणमान विजुक्च्छे रोहितलाई दरभंगामै भेटेको सुनाए । सिंह कुनैबेला एमालेमा थिए । उनले १५ वर्ष अघि उक्त दल छाडेर आफ्नै पार्टी खोलेका थिए । सांसद बनेर मन्त्री पनि बने । माओवादीमा समेत लागे । कुनैबेला प्रचण्डको विश्वास जितेर मन्त्री बनेका सिंह फेरि घुम्दै फिर्दै एमालेमा पुगे ।
प्रेमबहादुर सिंहले एमालेबाट टिकट पाउने चर्चा छ । यही सहमतिमा उनी पुगेको बुझिएको छ । पद र मन्त्रीका लागि उनी मरिहत्ते गर्ने स्वभावका छन् । त्यसैले पार्टी परिवर्तन धेरै पटक भइसकेको छ । सिंहले एमालेमा लागेपनि चुनाव जित्ने सम्भावना भने कमजोर छ । उनी आर्थिक मामलामा पनि विवादमा मुछिदै आएका छन् ।