मन्त्रिमण्डल हेरफेरमा को—को बन्लान् नयाँ मन्त्री

15.6k Shares

काठमाडौं । स्थानीय चुनावको आचारसंहिता अगावै मन्त्रिमण्डल हेरफेर हुने भएको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल बढाइसकेका छन् । उनले गठबन्धनका शिर्ष नेताहरुसँगको छलफलमा मन्त्रीमण्डल हेरफेर र नयाँलाई थप्ने प्रस्ताव गरेको बुझिएको छ । सत्ता गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार जनकपुर पुगेर चाँडै मन्त्रिमण्डल हेरफेर र नयाँलाई ल्याउने खुलासा गरिसकेका छन् । 

मन्त्रिमण्डल पुनः गठनमा कसले कति संख्या पाउने र क–कस्लाई ल्याउने सम्मको विषयमा छलफल बढेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार माओवादीले कम्तिमा एक थप मन्त्रालय मागेको छ । विगतमा नेकपा एकीकृत समाजवादी पार्टीलाई नयाँ दल बन्दा चुनौती भएकाले आफ्नो दलले त्याग गरेको प्रचण्डको तर्क छ । उनले हैसियत अनुसार मन्त्रालय र संख्या पाउनुपर्ने धारणा खुलाइसकेका छन् । माओवादीले अहिलेको सरकारमा ५ मन्त्रालय पाएको छ । उसले थप एक मन्त्रालय मागेको छ । प्रचण्डले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीसहित पठाउन खोजेका छन् । प्रचण्डले हाल रहेका मन्त्रीहरुबाट पनि केहीको हेरफेर गरेर व्यवस्थापन गर्ने तयारी गरेको बुझिएको छ । 

नेकपा एकीकृत समाजवादी पार्टीले अहिले पाएको मन्त्रालयको संख्या यथावत् बनाउने प्रयास गर्ने बुझिएको छ । तर, मन्त्रीहरुको सेट नै परिवर्तन गरी नयाँ मन्त्री पठाउने चर्चा चलेको छ । नेकपा एसबाट जीवनराम श्रेष्ठ, मेटमणि चौधरी र कृष्णलाल महर्जनले जिम्मेवारी पाउने सम्भावना रहेको बुझिएको छ । जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरुको हेरफेरको प्रयास चलेको छ । अध्यक्ष उपेन्द्र यादव केही मन्त्री फेर्ने तयारीमा छन् । तर, जसपाभित्र त्यो सम्भावना कमजोर रहेको बुझिएको छ । 

नेपाली काँग्रेसले चुनावलाई दृष्टिगत गरी गृह, अर्थ र सञ्चार आफै लिने तयारी गरेको बुझिएको छ । देउवाले अर्थमा आफ्ना विश्वासपात्रलाई ल्याएर माओवादीलाई अर्को शक्तिशाली मन्त्रालय दिनेबारे छलफल बढाएको बुझिएको छ । अर्थ छाडे गृह आफूले पाउनुपर्ने माओवादीको दाबी छ । देउवाले रक्षा र आपूर्तिमन्त्रालय समेत सम्हालेका छन् । दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्तिको तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार देउवाले सुजाता कोइराला र मीन विश्वकर्मालाई नयाँ मन्त्री बनाउने तयारी गरेका छन् । मन्त्री थप्दा उनले प्रकाशमान सिंह पक्षबाट एकजनालाई स्थान दिने तयारी गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीलाई २ मन्त्रालय लिएर सरकारमा ल्याउने प्रयास भइरहेको छ । त्यस्तो अवस्थामा राज्यमन्त्री हटाएर मन्त्रालय फुटाउने बुझिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर मिलाउने तयारी भएको विश्वस्त स्रोतले बताएको छ । तर, लोसपा नआए अहिले भएकै मन्त्रालयबाट व्यवस्थापन गर्ने बुझिएको छ । लोसपालाई भरसक ल्याउन देउवा लागेका छन् । उनले महन्थ ठाकुरसँग यसबारे छलफल गरिसकेका छन् । 

मन्त्रीहरुलाई कर्मचारीले टेर्न छाडे

एकातर्फ मन्त्रिमण्डल हेरफेरको चर्चा छ भने अर्कोतर्फ गठबन्धनमा काँग्रेस हावी हुन थालेको छ । यसको असर सरकार सञ्चालनमा देखिएको छ । कर्मचारीहरु मन्त्रीलाई टेर्न छाडेका छन् । गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा छन् । तर, सरकारमा काँग्रेसले अत्याधिक हावी देखिएको विषय माओवादी र नेकपा एसले उठाउन थालेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुले त्यसो हुनु स्वाभाविक हो । तर, देउवाले महत्वपूर्ण नियुक्तिदेखि सरुवाहरुमा भूमिका बढाउँदै गएका छन् । 

काँग्रेसको मन्त्री रहेको मन्त्रालयहरुमा अन्य दलको कुनै नियुक्तिको सम्भावना न्यून छ । तर, काँग्रेसले अर्थ मन्त्रालय, ऊर्जा, पर्यटन मन्त्रालयलगायतमा भएका नियुक्तिहरुमा आफ्ना मान्छेको व्यवस्थापन गरिसकेको छ । राजदूतमा अमेरिका, भारत र बेलायतमा काँग्रेसनिकटहरु गइसकेका छन् । माओवादीले चाहना राखेको चीनमा अझै राजदूत नियुक्ति भएको छैन । त्यहाँ सभामुख अग्नि सापकोटाको छोरा रुपक सापकोटाले इच्छा राखेका छन् । तर, देउवा निर्णय लिन तयार देखिएका छैनन् । राजदूतहरुमा पनि देउवाले आफ्नालाई नै बढी स्थान दिनेगरी तयारी गरिरहेको बुझिएको छ । 

बालुवाटारले सरकार सञ्चालनमा प्रभाव बढाउँदै लगेपछि सचिवहरु फाइल बोकेर उतै लाग्न थालेको बुझिएको छ । माओवादी र नेकपा एसका मन्त्रीहरुले आफ्ना शिर्ष नेताहरुलाई यसबारे गुनासो समेत गरिसकेको बुझिएको छ । प्रचण्डले यसकारण पनि पछिल्लो समय देउवासँग असन्तुष्टि पोख्न थालेका छन् । माधव नेपालले कर्मचारीले आफ्ना मन्त्रीलाई टेर्न छाडेको सार्वजनिक रुपमै बोलेका छन् । उनले मन्त्रीहरु फेरिने हल्लाले त्यस्तो भएको हुनसक्ने बताए । तर, कर्मचारीले माधव नेपालका मन्त्रीहरुलाई बेवास्ता गर्न थालेका छन् । आक्रामक रुपमा चिनिएका मन्त्री प्रेम आलेदेखि किसान श्रेष्ठ समेत विगतमा भन्दा सुस्ताएका छन् । जसपाका मन्त्रीहरु उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भन्दा देउवानिकटस्थलाई नजिक बनाउन लागिपरेका छन् । 


सम्बन्धित समाचार