श्रीमती मार्ने अभियुक्तलाई कतारबाट नेपाल ल्याइयो

16.7k Shares

काठमाडौं, २३ फागुन । श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई अपराध महाशाखा र इन्टरपोलको समन्वयमा कतारबाट नेपाल ल्याइएको छ । श्रीमती हत्याको अभियोग लागेका सिरहाका भोगेन्द्रप्रसाद यादवलाई कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको हो । 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २०७२ सालमा श्रीमती आरती परियार यादवको हत्या गरी फरार भएका यादवलाई पक्राउ गर्न प्रहरीले करिब २ वर्ष पहिले इन्टरपोलमार्फत् रेड नोटिस जारी गरेको थियो ।

रेड नोटिस जारी भएपछि कतार प्रहरीको सहयोगमा इन्टरपोलले कतारबाट यादवलाई सोमबार अपरान्ह ३ : ३० बजे नेपाल ल्याएको हो । यादवविरुद्ध ललितपुर जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ । प्रहरीले यादवलाई फरार प्रतिवादीकै रुपमा मुद्दा चलाएको हो । पक्राउलगत्तै प्रहरीले यादवलाई ललितपुर जिल्ला अदालतमा बुझाउने तयारी गरेको छ । 

२०७२ वैशाख १५ गते बिहान अन्दाजी साँढे ९ बजेको समयमा ललितपुर जिल्लाको लेले ९ फैडोल भन्ने स्थान नजिकै पीआईए पार्क जाने बाटोमा करिब २५ वर्षकी महिलाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 

शव भेटिएपछि पुगेको प्रहरीले शवको सनाखत गर्न धेरै कोशिस गरेपनि सकेन । घटनास्थलमा शवको सनाखत हुने कुनै तथ्य र प्रमाण नपाएपछि अपराध शाखा ललितपुरले हुलिया र अनुहार चिनिने फोटोसहितको परिपत्र विभिन्न प्रहरी कार्यालयहरुलाई गर्यो । सोही क्रममा मृतक सिरहा जिल्लाको बिसनपुर गाउँपालिका ५ की २५ वर्षीय आरती परियार यादव भएको तथ्य खुल्यो । मृतकको पहिचान खुलेपछि अनुसन्धानलाई तीब्रता दिएको प्रहरीले हत्यामा आरतीकै श्रीमान भोगेन्द्रप्रसाद यादवको संलग्नता रहेको र कतारबाट श्रीमतीको हत्या गर्नकै लागि नेपाल आएको पाएको थियो । 

भोगेन्द्र र आरतीको साथबाट २ जना छोराहरुको जन्मसमेत भइसकेको थियो । तर भोगेन्द्र वैदेशिक रोजगारीमा गएको बेला आरती देवर नाता पर्ने रविकुमार यादवसँग नजिक रहेको र उनीहरु बीचमा सम्बन्ध रहेको बारे भोगेन्द्रले जानकारी पाए ।

त्यसपछि उनी सुटुक्क नेपाल आएर श्रीमतीको हत्या गरी पुनः कतार पुगेको प्रहरीले पत्ता लगाएको थियो । यही क्रममा अपराध महाशाखाले फरार अभियुक्तको खोजी र पक्राउका लागि २०७६ पुष ३ गते इन्टरपोल शाखालाई पत्र लेखेको थियो । त्यसपछि भोगेन्द्रको खोजीमा लागेको नेपाल प्रहरीको इन्टरपोल शाखाले कतार प्रहरीसँग समन्वय गरी भोगेन्द्रलाई पक्राउ गरी नेपाल ल्याउन सफल भएको हो । 

सम्बन्धित समाचार