पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था

18.2k Shares

काठमाडौं, फागुन १७ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैबीच, पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताए । चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यसवर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उनले बताए । 

शिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले शिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । यसवर्षको शिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिए । 

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ । रासस 

सम्बन्धित समाचार