काठमाडौं, १८ माघ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन् ।
राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएकाे छ । पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन ।
नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेयता एमालेबाट राजीनामा दिएर बसेका गौतम हाल दलविहीन छन् । २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा गरेको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्य पदमा मनोनयन गरेकी हुन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभाको सांसद बनेका हुन् ।
एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सचिवालय सदस्य रहेका गाैतम सर्वाेच्च अदालतको फैसलाले दुई पार्टी अलग भएपछि एमालेका उपाध्यक्ष बनेका थिए । तर एमाले पनि फुटेपछि उनी कतै नलागी बसेका हुन् । गौतमले यसअघि २०५४ मा पनि एमालेबाट अलग भई नेकपा माले गठन गरेका थिए, तर ४ वर्षपछि २०५८ मा पुनः एमालेमै मिसिएका थिए ।