काठमाडौं । नेपाल पुलिस क्लबका पूर्वखेलाडी हरि खड्काविरुद्ध बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको सइमा बढुवा हुन उनले प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ । उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा छानबिन सुरु भएपछि दुई वर्षअघि प्रहरीको असइ पदबाट राजीनामा दिएका थिए ।
खड्काले माध्यामिक शिक्षा परिषद बाराणशी, उत्तरप्रदेशवाट जारी भएको भन्दै प्रमाणपत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगले बताएको छ । सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भएको आयोगले आरोपपत्रमा उल्लेख छ ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दण्ड सजायको मागदावी लिई आज बिशेष अदालतमा मुद्दा दायर गरिएको हो । खड्का नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत हुन् ।