तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी

790 Shares

काठमाण्डौ - नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । 

उज्यालोको पर्व तिहारमा विद्युत् सेवा अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्दै प्राविधिक टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखेको प्राधिकरणले जनाएको छ । आपूर्ति व्यवस्थापन र प्रणाली निगरानीका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन र प्रादेशिक प्रमुखहरूसँग भर्चुअल बैठक सम्पन्न भएको छ । 

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा समस्या आएमा तत्काल मर्मत गर्न, नो–लाइट सेवाका फोन उठाउन र सम्भावित अवरोध न्यूनीकरण गर्न निर्देशन दिनुभएको छ । यस वर्ष तिहारको लक्ष्मीपूजाका दिन बेलुका विद्युतको अधिकतम माग झण्डै एक हजार सात सय मेगावाट हुने अनुमान छ । 

यो समयमा उत्पादन भने झण्डै २५ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएकाले आन्तरिक माग धान्न स्वदेशी उत्पादन नै पर्याप्त हुने प्राधिकरणले जनाएको छ । यसैबीच, प्राधिकरणले पर्वका समयमा विद्युतीय उपकरण सुरक्षित रूपमा प्रयोग गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समस्या देखिएमा दक्ष प्राविधिकको मात्र सहयोग लिन उपभोक्ताहरूलाई आग्रह गरेको छ । 

सम्बन्धित समाचार