आमा-छोरीको द्वन्द्वमा आधारित फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक

1.2k Shares

काठमाडौं– आमा र छोरीको सम्बन्ध सधैँ माया र आत्मीयताले मात्र बाँधिएको हुँदैन। कहिलेकाहीँ यही सम्बन्धभित्र लुकेको त्याग, विभेद र असमझदारीले ठूलो द्वन्द्व पनि निम्त्याउँछ। यस्तै पारिवारिक सम्बन्धको जटिलता र आमा–छोरीबीचको संघर्षलाई समेट्दै अभिनेत्री रेखा थापाको फिल्म ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ।

धनतेरसको अवसर पारेर सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तुबारे केही रोचक संकेत गरेको छ। टिजरमा अभिनेत्री निरुता सिंह आमाको भूमिकामा देखिएकी छन् भने रेखा थापा र पूजा शर्मा छोरीको भूमिकामा छन्। एउटा सन्तानको खुसीका लागि अर्को सन्तानलाई छोड्नुपर्ने परिस्थितिले परिवारभित्र कस्तो द्वन्द्व सिर्जना गर्छ भन्ने विषयलाई टिजरले उजागर गरेको छ।

टिजरमा आमाको निर्णयविरुद्ध छोरीले नै संघर्ष गर्नुपर्ने अवस्था देखाइएको छ। यसले फिल्म केवल पारिवारिक भावनामा मात्र सीमित नभई सम्बन्धभित्रको असमानता, पीडा र विद्रोहको कथा पनि हुन सक्ने संकेत गर्छ। आमाको भूमिकामा निरुता र छोरीको भूमिकामा रेखा तथा पूजाको प्रस्तुतिले पनि फिल्मलाई थप चासोपूर्ण बनाएको छ।

सविर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा महेश त्रिपाठी, पुष्प खड्का, सुवर्ण थापा, निशा अधिकारी र रमेशचन्द्र सिडारीलगायतका कलाकारको पनि अभिनय छ।

रेखा फिल्म्स र काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठ हुन्। निर्देशक श्रेष्ठकै कथा रहेको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका छन्।

फिल्ममा ईश्वर सिन्केमनको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा बनिश शाह र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। आमा र छोरीबीचको सम्बन्ध नै संघर्षको केन्द्रमा रहेको ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार